हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको परीक्षण गर्ने पीसीआर किट हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा चार सय वटा आइपुगेको छ । बागमती प्रदेशको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट हिजो शुक्रबार चार सय किट प्राप्त भएको हो । किटकै अभावमा हिजो शुक्रबार एकदिन कोरोना परीक्षण रोकिएको थियो । आजबाट कोरोना परीक्षण सुचारु हुने डा. सेढाईले बताउनुभयो ।
आज ५ वटा स्वाब नमूनाको परीक्षण हुने डा. सेढाईले जानकारी दिनुभएको छ । बिहिबार राती नै प्राप्त भएको स्वाब किटको अभावमा परीक्षण हुन सकेको थिएन । आज ती ५ वटै स्वाबको परीक्षण हुनेछ । हालसम्म बागमती प्रदेशमा ७ जनामा कोरोना संक्रमण भएको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ इकाईले जनाएको छ । संक्रमित मध्ये ५ जना निको भइसकेको र २ जना उपचाररत छन् ।
देशभर भने १०२ जना संक्रमित भएका छन् । जसमध्ये ३० जना निको भइसकेका छन् । नेपालमा हालसम्म एकजनाको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छैन ।