छवि अनित्य/साहित्यकार

छवि अनित्य/साहित्यकार
पढ्नु अत्यन्तै गाह्रो काम हो । किताब पढ्न सजिलो पक्कै छैन । अझ भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई फेरि ‘पढ्ने सुझाव’ दिनु अपराध नै ठानिन पनि सक्छ । तर यो सबैभन्दा उपयुक्त समय हो किताब पढ्ने ।

आइतबारदेखि यस वर्षको एसईई परीक्षा सकिँदैछ । त्यसपछिका करिब तीन महिना विद्यार्थीका लागि सबैभन्दा उर्वर समय हो । यो समयमा जे तयारी गरिन्छ, त्यसले उनीहरुको भविष्य निर्धारण गर्नका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । दस कक्षासम्म आइपुग्दा पनि कतिपय विद्यार्थी पाठ्यपुस्तक भन्दा बाहिर आउन नसकेको यथार्थ हो । यस हिसाबले पनि सबैजसो भाइबहिनीलाई पढ्ने कुरा गर्ने बित्तिकै लाग्छ, ‘फेरि पढ्ने !’

हो, फेरि पढ्ने । तर अब पढ्दा परीक्षाको तनाव नसम्झी पढ्ने । कुनै पनि किताब पढ्नु भनेको एकप्रकारको ध्यानमा लिनहुनु जस्तै हो । किताबभित्र रहेको अथाह ज्ञानलाई आफूमा प्रवाह गर्नु हो । किताब आफैँमा नराम्रो हुँदैन । पाठकको रुची के छ भन्ने कुराले राम्रो र नराम्रोको तह निर्धारण गर्छ । रुचीको किताब परे राम्रो लाग्छ, नपरे नराम्रो ।
किताब घरले बिदाको यो समयमा खासगरी एसईई दिएर बसेका किशोर–किशोरीहरुका लागि उपयोगी दस किताबको यस्तो सूची बनाएको छ ।

१. गुणरत्नमालाः झण्डै डेढ सय वर्षअघि लेखिएर आजसम्म पनि उत्तिकै लोकप्रिय हुनु ’गुणरत्नमाला’को गुणको प्रभाव नै हो । व्यवहारिक ज्ञानदेखि जीवनदर्शनका महत्वपूर्ण सन्दर्भहरूको काव्यिक भाषामा सरल प्रस्तुतिले जोकोहीलाई लोभ्याउँछ । यो किताबले किशोर–किशोरीहरुमा सामाजिक, व्यवहारिक तथा जीवनोपयोगी ज्ञान प्रवाह गर्न मद्दत गर्छ ।

२. जङ्गबहादुरको युगः ऐतिहासिक अध्ययनमा रुची राख्नेहरूका लागि महत्वपूर्ण किताब हो ’जङ्गबहादुरको युग’ । कतै नायक त कतै खलनायकको रुपमा जङ्गबहादुरको चरित्रलाई किताबमा रोचक ढंगले प्रस्तुत गरिएको छ । खासगरी इतिहासमा रुची हुनेहरुका लागि यो एक उपयोगी किताब हो ।

३. पल्पसा क्याफेः ’पल्पसा क्याफे’ २०६० को दशकका युवाहरूलाई किताब पढ्न प्रेरित गर्ने महत्वपूर्ण उपन्यास हो । द्वन्द्वकालीन परिवेशको कथावस्तु बुनिएको यो किताब अंग्रेजी, कोरियन, फ्रेन्च लगायतका भाषामा समेत अनुवाद भैसकेको छ । युवाहरुकै सेरोफेरोमा लेखिएको यो किताबले पछिल्लो समय युवाहरुमाझ चलेको विदेशिने लहरकाबीच देशमै केही गर्नका लागि प्रेरित गर्नसक्छ ।

४. जीवन काँडा कि फूलः ’जन्मको झमक घिमिरेलाई कर्मको झमक घिमिरेले जितेको कथा हो, जीवन काँडा कि फूल ।’ प्रकाशकले किताबको पछाडीको गातामा लेखेको वाक्य हो यो । झमकको कष्टपूर्ण शारीरिक जीवनलाई दुनियाँले सम्मान गर्ने उचाइमा पुग्नुअघिको उतारचढाव कस्तो थियो भन्ने यसले बुझाउँछ । यो एक प्रेरणादायी आत्मकथा हो ।

५. फूलको आँखामाः आनी छोइङ डोल्माले आजको ख्याती कमाउनुअघिको संघर्षको कथा हो ’फूलको आँखामा’ । सुरुमा फ्रान्सेली भाषामा लेखिएको यो आत्मकथाले जीवनलाई हेर्ने दृष्टिकोण बदल्न सघाउँछ । नेपाली भाषामा अनुवाद हुनुअघि नै यो किताब अरु एघार भाषामा प्रकाशित भैसकेको थियो ।

६. उहिलेको नेपालः ’उहिलेको नेपाल’ लेखक भैरव रिसालको सात दशक लामो पत्रकारिता अनुभवको प्रतिफल हो । समग्र मुलुकको विकासक्रमको सुन्दर व्याख्या र इतिहासको साक्षी बस्न पाइने पुस्तकको रुपमा यसलाई लिन सकिन्छ । अनुभवमा आधारित रहेर गरिएको यो किताब भित्रको वर्णनले आजको पुस्तालाई हिजोको समाजसँग साक्षात्कार गराउन सहयोगी भूमिका निर्वाह गर्नसक्छ ।

७. शून्यको मूल्यः प्रकाशकको भाषामा ’शून्यको मूल्य’ सृजनात्मक गैरआख्यान हो । तर पाठकलाई यो पढ्दै गर्दा यथार्थ हो वा आख्यान, छुट्याउन गाह्रो पर्छ । भाषाको मिठासले कर्णालीका आमाहरूको कठोर दैनिकीलाई लेखक डा. नवराज केसीले सहजै पाठकका आँखामा उतार्न सकेका छन् । सहरी परिवेशमा हुर्केका किशोर–किशोरीहरुलाई कर्णालीको दुःखको वर्णन दन्त्यकथा जस्तै लाग्न पनि सक्छ ।

८. बाआमाः मदन पुरस्कार विजेता रामलाल जोशीको कथा संग्रह ’बाआमा’ यस वर्षको एक उत्कृष्ट कृति हो । प्रत्येक सन्तानले आफ्ना बाआमालाई अनि बाआमाले आफ्ना सन्तानलाई पढाउनुपर्ने किताबका रुपमा यसलाई हेरिन्छ । यो किताब पढिसकेपछि पाठकले अभिभावकप्रतिको आफ्नो दायित्वबोध गर्न सक्दछन् ।

९. अब यस्तो कहिल्यै नहोस्ः इतिहासका कतिपय गल्तीहरू, जो कहिल्यै नदोहोरिउन् भन्ने लाग्छ तिनैको वर्णन पाइन्छ बाबुराम आचार्यको ’अब यस्तो कहिल्यै नहोस्’ मा । खासगरी पृथ्वीनारायण शाहको मृत्युपछि चलेको घात–प्रतिघातको शृंखला वर्णन पाठकलाई रुचीकर लाग्न सक्छ । पाठ्यपुस्तकबाट छोटिँदै गएको ऐतिहासिक अध्ययनको दायरालाई फराकिलो पार्न सघाउने किताब हो यो ।

१०. शिलान्यासः पृथ्वीनारायण शाहको विजय अभियानको चरित्र र स्वतन्त्र एवम् सार्वभौम नेपालको निर्माणको नालीबेली हो सुजित मैनालीको पुस्तक ’शिलान्यासः नेपाल निर्माणको नालीबेली’ । यसले इतिहाससम्बन्धी कतिपय भ्रमहरूको पर्दा खोल्ने काम पनि गरेको छ ।

(यो सूची किताबघरमा तत्काल उपलब्ध किताबहरुबाट तयार गरिएको हो । किशोर–किशोरीहरुका लागि उपयोगी अरु थुप्रै किताबहरु पाइन्छन् ।)