रमेशप्रसाद सुवेदी, प्रधानाध्यापक ज्ञानदा मावि, हेटौंडा–१०

रमेशप्रसाद सुवेदी, प्रधानाध्यापक
ज्ञानदा मावि, हेटौंडा–१०

हामी यतिबेला चालु शैक्षिक सत्र २०७९ को अन्तिम चरणमा छौं । परीक्षा सकिएर नतीजा प्रकाशनको तयारीमा छौं । केही दिनमै नयाँ शैक्षिक सत्रको सुरुवात हुँदैछ । विद्यालय भर्ना अभियान सुरु गर्नुपर्नेछ । पछिल्लो समय सामुदायिक विद्यालयमा सर्वसाधारणको चासो र सहभागिता बढ्दो छ । विद्यालयमा अभिभावकको सक्रियता बढेसँगै शैक्षिक गुणस्तर पनि सुधार हुँदै गएको छ ।

चालु शैक्षिक सत्र २०७९ मा हेटौंडा–१० स्थित ज्ञानदा माध्यामिक विद्यालयको शैक्षिक क्रियाकलाप औसत नै रह्यो । विद्यालयको शैक्षिकस्तर समुदायको चाहनाअनुरुप सुधार हुन नसकेको विषयलाई मध्यनजर गर्दै शैक्षिक सत्र २०७९ को प्रारम्भसँगै शैक्षिक सुधारका लागि केही प्रयासहरु थालिएका थिए । जसअन्तर्गत विद्यार्थीहरुमा अनुशासन कायम राख्न र बाहिरी वातावरणमा नअलमिउन् भन्ने उद्देश्यले विद्यार्थीलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमै राखी नियमित र अतिरिक्त कक्षा सञ्चालन गरियो । बालविकास केन्द्रलाई प्रभावकारी बनाउन स्मार्ट टिभि र पर्याप्त खेल सामग्रीको व्यवस्था गरियो । अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रम नियमित रुपमा सञ्चालन गरियो । जसको कारण विद्यार्थीहरु विभिन्न कार्यक्रमहरुमा पुरस्कृत हुन समेत सफल भए ।

सप्ताहिक परीक्षा सञ्चालन गर्ने र पृष्ठपोषण दिने काम वर्षैभरी जारी राखियो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन गर्ने कार्य सम्पन्न गरियो । विद्यालयप्रति आकर्षण बढाउन अभिभावकको सहमतिमा हाउस ड्रेसको व्यवस्था गरियो । यसबाट विद्यार्थीमा हौसला वृद्धि भएको महसुस गरिएको छ । गणित शिक्षणलाई प्रभावकारी बनाउन गणित प्रयोगशाला निर्माणको थालनी गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा कम्प्यूटर प्रयोगशालामा कम्प्यूटर थप गरिनुको साथै ७५ इन्चको स्मार्ट बोर्ड जडान गरी पठनपाठन थालनी गरिएको छ । ज्ञानदा वृहद अक्षयकोषका लागि हेटौंडा उपमहानगरपालिकाबाट २ लाख ५० हजार रुपैयाँ स्वीकृत भएको छ । यससँगै कोषमा १० लाख ५० हजार रुपैयाँ जम्मा हुनेछ । कोषको व्याजबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई प्रोत्साहनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।

आगामी शैक्षिक सत्र २०८० का लागि विद्यालयले केही योजना बनाएको छ । मिहिनेती, परिश्रमी शिक्षक, कर्मचारीको सामूहिक प्रयासमा आम अभिभावकको अपेक्षाअनुसार बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी हामी महत्वपूर्ण कार्य गर्नेछौं । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी भर्ना गर्दा क्षमता परीक्षण गरेर मात्र भर्ना गरिने छ । ज्ञानदा वृहत अक्षयकोष वृद्धिका लागि प्रयास गरिनेछ । विषयगत प्रयोगशालाहरुलाई व्यवस्थित बनाइनेछ । अतिरिक्त कक्षा र साप्ताहिक परीक्षा निरन्तर रुपमा सञ्चालन गरिने छ । विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गराउन साताको १ दिन १ पिरियड पत्रपत्रिका पढ्न लगाउने र त्यसमा भएका महत्वपूर्ण समाचारहरु टिपोट गर्न लगाइनेछ ।

विद्यालयको शैक्षिक गतिविधि सञ्चालन र शैक्षिक सुधारका लागि १० नम्बर वडा भित्र रहेका १२ वटा टोल विकास संस्था र ३ वटा आमा समूहका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइसकेको छ । आगामी शैक्षिक सत्रको प्रारम्भबाट टोल विकास संस्थाका पदाधिकारीसँग समन्वय गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकसहितको टोली निर्माण गरी घरदैलो कार्यक्रम सञ्चालन गरिने छ । विद्यालयले सञ्चालन गरेका राम्रा क्रियाकलापहरुको विभिन्न सञ्चार माध्यामहरुबाट प्रचार–प्रसार गरिनेछ ।

विगत वर्षहरुमा ज्ञानदा माविलाई पठन–पाठन नहुने विद्यालय, विद्यालय व्यवस्थापन समिति र शिक्षकको राजनीति गर्ने थलोको रुपमा हेर्ने गरेको साथै अन्त कतै भर्ना हुन नसकेका अनुशासनहिन, उच्छृङ्खल विद्यार्थी भर्ना गर्ने विद्यालयको रुपमा अभिभावकहरुले हेर्ने गरेकोमा शैक्षिकसत्र २०७९ को प्रारम्भदेखि नै शैक्षिक सुधारका लागि हामीले सञ्चालन गरेका विभिन्न प्रयासहरुका कारण विद्यालयप्रति अभिभावक र समाजको सकारात्मक भावनाको विकास हुँदै गएको देखिन्छ । शिक्षकले चाहेमा सुधार सम्भव छ भन्ने भावना अभिभावकमा पर्न गएको छ । अभिभावकको विद्यालयप्रतिको सकारात्मक सोचले गर्दा आगामी शैक्षिकसत्र २०८० मा विद्यार्थी संख्या वृद्धि हुने अपेक्षा राखिएको छ । साथै अभिभावकको यो विश्वासलाई कायम राख्दै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारको प्रयास जारी राखिने छ ।