हेटौंडाः वैदेशिक रोजगारको शिलशिलामा जापान पुग्नुभएका कवि उमेश तिमल्सिनाले हेटौंडामा कविता वाचन गर्नुभएको छ । शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा उहाँले ६ वटा शीर्षकमा कविता वाचन गर्नुभएको हो ।
उहाँले डाँकसाइट, रिक्तता, अभावको अनुहार, सपना, घर छाड्नुअघिको रात र प्रश्न शीर्षकमा कविता वाचन गर्नुभयो । उमेशले प्रश्न शीर्षकको कविता भने जापानिज भाषामा वाचन गर्नुभयो । वैदेशिक रोजगारीको शिलशिलामा कविता लेखेको उहाँले जानकारी दिनुभयो । संगमको यस कार्यक्रमले आफूलाई कविता लेखनमा निरन्तरता दिन प्रोत्साहित गरेको उहाँको भनाई छ ।
संगमका पूर्वअध्यक्ष सुवास खनालले कवि तिमल्सिनाको व्यक्तित्वबारे चर्चा गर्नुभयो । २०४५ सालमा जन्मनुभएका तिमल्सिनाले हेटौंडाको महेन्द्र माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेको जानकारी दिनुभयो । तत्कालीन समयमा शिक्षण पेशामा आवद्व तिमल्सिना २०७४ सालमा संगमको सचिवसमेत हुनुभएको थियो ।
४ वर्षअघि वैदेशिक रोजगारीको शिलशिलामा जापान पुग्नुभएका तिमल्सिना विदामा स्वदेश फर्किनु भएपछि एकल कविता वाचनमा उपस्थित हुनुभएको हो । साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संगमको आयोजनामा भएको कार्यक्रममा कवि, गजलकार, मुक्तककार र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।