मोडेल अस्पतालमा अनुगमनको क्रममा ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा मंगलबार हेटौंडाको मोडेल अस्पतालमा अनुगमन गरिएको छ । एक साताको बीचमा अस्पतालहरुमा गरिएको यो तेस्रो अनुगमन हो । गत फागुन ९ गते बिहीबार मकवानपुर सहकारी अस्पताल र सिटी अस्पतालमा पहिलो अनुगमन गरिएको थियो । सोमबारमात्र सन्चो अस्पतालमा अनुगमन गरेको टोलीले मंगलबार मोडेल अस्पतालमा अनुगमन गरेको हो ।

अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरिएको छ । पहिलाको अनुगमनमा भन्दा अहिले धेरै सुधार आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले बताउनुभयो ।
निजी स्वास्थ संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको छ ।

फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधी फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला सञ्चालन नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहोर व्यवस्थापन, रेफ्रिरजेरेट्र टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेशिन सञ्चालनका लागि एसी २४ घन्टा नियमित चलाउनुपर्नेजस्ता कमी सच्याउनुपर्ने स्वास्थ्य शाखा प्रमुख लक्ष्मीनारायण भगतले बताउनुभयो ।