व्यवस्थापन समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै । अध्यक्ष इवाकर मैनाली (इन्सेकमा) ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा इवाकर मैनाली चयन हुनुभएको छ । बुधबार बिहान बसेको व्यवस्थापन समितिको बैठकले मैनालीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गत माघ २८ गते नै अभिभावक भेला सम्पन्न भए पनि व्यवस्थापन समिति गठनमा भने ढिलाई भइरहेको थियो ।

बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको सदस्यमा अभिभावकमध्येबाट रिता श्रेष्ठ, ज्योति केसी, रामप्रसाद देवकोटा र कृष्णप्रसाद अर्जेल चयन गरिएको थियो । अभिभावकमध्येबाट व्यवस्थापन समिति सदस्य चयन भएपछि बसेको बैठकले समाजसेवी, शिक्षासेवीमध्येबाट इवाकर मैनाली र दुर्गा अधिकारीलाई विद्यालय व्यवस्थापन समितिको सदस्य चयन गरेको थियो । सदस्यमा मनोनित मैनालीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत रामचन्द्र खड्का विद्यालय व्यवस्थापन समिति गठन सहयोग समितिको संयोजकको रुपमा खटिनुभएको थियो । व्यवस्थापन समिति गठनको प्रक्रियामा वडा अध्यक्ष रामकृष्ण थापाको पनि उपस्थिति रहेको थियो । वडा प्रतिनिधिको रुपमा वडा अध्यक्ष थापा नै विद्यालय व्यवस्थापन समितिको सदस्यको रुपमा रहनुभएको छ । कक्षा १२ सम्म पठनपाठन हुने चन्द्रोदय माविमा एक हजार ५० विद्यार्थी अध्ययनरत छन् ।