हेटौंडाः हेटौंडा–१ स्थित सञ्चो हस्पिटल प्रालि कारबाहीमा परेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा खटिएको एकीकृत बजार अनुगमन समिति तथा औषधी व्यवस्था विभाग वीरगञ्जको प्रतिनिधिसहितको संयुक्त टोलीले हस्पिटललाई कारबाही गरेको हो ।

सन्चो हस्पिटलमा सञ्चालित प्रयोगशाला इजाजत नलिई सञ्चालन गरेको पाएपछि कारबाही गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । हस्पिटललाई ईजाजत लिएपश्चात् मात्र प्रयोगशाला सञ्चालन गर्ने गरी हाललाई बन्द गर्ने निर्देशन दिइएको बताइएको छ । हस्पिटलमा सञ्चालित फार्मेसी नवीकरण नगरी सञ्चालन गरिएको पाइएको र ३ दिनभित्र औषधी व्यवस्था विभाग वीरगञ्जमा गई नवीकरण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

नवीकरणपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका), स्वास्थ्य कार्यालय र हेटौंडा उपमहानगरपालिकामा पेश गर्नका लागि निर्देशन दिएको उहाँले बताउनुभयो । हस्पिटलको इमरजेन्सीमा म्याद गुज्रिएको औषधी पाइएको र त्यसलाई हटाइएको उहाँले बताउनुभयो । अस्पतालले आर्थिक वर्ष २०७७÷०७८ पछि कर चुक्ता गरेको नदेखिएको र ७ दिनभित्रमा करचुक्ता गर्न समेत निर्देशन दिइएको छ । बिहिबार जिप्रका मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा खटिएको एकीकृत बजार अनुगमन समितिले हेटांैडा–१ मा रहेको मकवानपुर सहकारी अस्पताल र हेटौंडा सिटी हस्पिटलको अनुगमन गरी कारबाही गरिएको थियो । २५ शैया अस्पताल सञ्चालन स्वीकृत लिएको मकवानपुर सहकारी अस्पतालमा मापदण्डभन्दा बढी शैया राखी सञ्चालन गरिएको पाइएको थियो ।

अनुगमन टोलीले स्वीकृतभन्दा बढी क्षमतामा सञ्चालनमा रहेको २६ शैया बन्द गरी मापदण्ड पूरा गरेपश्चात्मात्र सञ्चालन गर्न निर्देशन दिएको थियो । हेटौंडा सिटी हस्पिटल नवीकरण नगरी सञ्चालन गरिएको पाइएको थियो । नवीकरण गर्न बिहिबारसम्म समय दिएको छ । उक्त हस्पिटलको इमरजेन्सीमा मापदण्डविपरित राखिएको ६ शैयामध्ये ३ शैया हटाइएको थियो । जनस्वास्थ्य ऐन तथा नियमावलीले तोकेको मापदण्ड पालना निजी स्वास्थ्य संस्थाहरु संचालन भएको छ कि छैन भनेर अनुगमन गरिएको उहाँले बताउनुभयो ।