गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । २०७२ चैत २५ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको स्वास्थ्य उपचारमा ठूलो टेवा पुगेको छ । यो कार्यक्रमको सरकारको लोकप्रिय कार्यक्रममध्ये एक पनि हो । आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्नुपर्ने राज्यको दायित्व भए पनि नेपाल सरकारले निःशुल्क स्वास्थ्यलाई प्रभावकारी बनाउन सकेको छैन । निःशुल्क उपचार पाउन नसकेको भए पनि मध्यम तथा न्यून आयस्तर भएका नेपालीका लागि स्वास्थ्य बिमा कार्यक्रम बरदान सावित भएको छ । बार्षिक ३५ सय रुपैयाँ खर्चेर ५ जनाको परिवारको एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च बीमाले व्यहोर्ने गरेको छ । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने, आकस्मिक स्वास्थ्य उपचार गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने सबै प्रकारका बिरामीलाई यो कार्यक्रमले आर्थिक टेवा प्रदान गरेको छ ।

सुरुवातको समयमा कैलाली, बाग्लुङ र इलाम गरी तीन जिल्लामा परीक्षण गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका सबै जिल्लामा लागू भएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिरामीले निकै लाभ लिएको भए पनि बीमा सुविधाबाट उपचार गराइरहेका कतिपय अस्पतालहरुलाई भने सकस भइरहेको छ । स्वास्थ्य बीमा बोर्डले समयमै बीमाबाट गरिएको उपचार खर्चको दावी भुक्तानी नदिँदा अस्पतालहरुलाई अप्ठेरो परेको हो । हेटौंडाका तीनवटा अस्पतालहरुले स्वास्थ्य बीमा गराएका नागरिकको उपचार गरेवापत बोर्डबाट २० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको छ । हेटौंडा अस्पतालले करिब ९ करोड रुपैयाँ, चुरेहिल हस्पिटलले करिब ७ करोड र हेटौंडा सामुदायिक आँखा अस्पतालले करिब ४ करोड रुपैयाँ स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिन बाँकी रहेको हो ।

बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पतालको आन्तरिक अवस्था सवल भएका कारण बीमा बोर्डबाट रकम समयमा भुक्तानी नहुँदा जटिलता नभए पनि ठूलो रकम बक्यौता रहनुलाई अस्पतालले सहजरुपमा लिएको छैन । बोर्डबाट मासिकरुपमा धेरथोर रकम प्राप्त भइरहेको भए पनि बक्यौता रकम ठूलो रहेको देखिन्छ । हेटौंडा–११, थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले स्वास्थ्य बीमावापतको रकम समयमा प्राप्त नभएकै कारण केही समय बीमाका बिरामीको उपचारसमेत गरेको थिएन । अहिले बीमामार्फत् स्वास्थ्य उपचार सेवा प्रदान गरेको भए पनि सुविधा कटौती गर्दै लगेको अस्पतालको भनाइ छ । बीमाबाट गरिएको उपचार खर्चको भुक्तानी लिनै गाह्रो र ढिलो हुने भएपछि अस्पतालको सेवा प्रवाहमा असहजता हुने सम्भावना रहन्छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले पनि स्वास्थ्य बीमा बोर्डबाट ठूलो रकम भुक्तानी लिन बाँकी छ । ठूलो रकम भुक्तानी लिन बाँकी रहँदा अस्पतालको सेवा प्रभावित हुने सम्भावना बढेको भन्दै यथाशिघ्र भुक्तानी गरिदिन अस्पतालले माग गरेको छ ।

निकै लोकप्रिय मानिएको स्वास्थ्य बीमा कार्यक्रमको जस लिन सबैजसो राजनीतिक दल र सरकारबीच हानाथाप हुने गरेको भए पनि बीमालाई अझ प्रभावकारी बनाउन गम्भीरता देखिएको छैन । बीमावापत उपचार गराएका अस्पताललाई समयमै रकम भुक्तानी नगर्नेमात्र होइन, बीमा बोर्डले देशका सबै अस्पतालमा बीमामार्फत् उपचार सुविधा उपलब्ध गराउन सकेको छैन । तोकिएको अस्पतालमै उपचार गराउनुपर्ने र सबै अस्पतालमा बीमा सुविधा नहुँदा अस्पतालहरुमा सेवाग्राहीको चाप अत्यधिक देखिने गरेको छ । यसले स्वास्थ्य उपचार गराउन बिरामीले घण्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । उपयुक्त नीति–नियम बनाएर स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै यसबाट अस्पताल र बीमितले भोग्नुपरेको सकस समाधानमा बिमा बोर्ड र सरकारको ध्यान जानु आवश्यक छ ।