हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले हेटौंडालाई पर्यटकीय हब बनाउन सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मकवानपुर होटल एशोसिएसनको १४ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले उपमहानगरले पर्यटन प्रवर्धनलाई ध्यानमा राखेर काम गरिरहेको बताउँदै पर्यटकलाई कसरी हेटौंडामा बस्ने वातावरण बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कर्रा र राप्तीलाई कसरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सक्छौं भनेर अध्ययन गरिरहेका छौं ।’ दुबै नदिलाई देखाएर हेटौंडामा पर्यटक कसरी रोक्न सक्छौं भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गर्न उपमहानगर तयार रहेको उहाँको भनाइ थियो । अहिले कर्रा खोलालाई आधार मानेर करीडोर बनाउने तयारीमा उपमहानगर लागिसकेको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडालाई व्यावसायिक हब बनाउने विषयमा सोच्न जरुरी रहेको उनको भनाइ थियो ।
उपमहानगर व्यावसायिक कुरामा सधै सहकार्य गर्न तयार रहेको भन्दै नगर प्रमुख लामाले हेटौंडालाई चिनाउने विषयमा सोच्न होटल व्यवसायीहरुलाई सुझाव दिनुभयो । ‘हामीले विस्तारै कामलाई गति दिँदै छौं’ उहाँले भन्नुभयो, ‘हेटौंडा वासीलाई १० हजार लिटर पानी निःशुल्क गरेसँगै अब शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने चरणमा लागेका छौं ।’ अहिले हेटौंडामा दिर्दै आएको शिक्षालाई विकास गर्ने क्रममा इन्जिनियरिङ्, कानुन र कृषिको उच्च शिक्षा ल्याउने क्रममा रहेको उहाँले बताउनुभयो ।
साधारणसभामा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हेटौंडामा आएर पर्यटक बस्नुपर्ने आधार तयार गर्न व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘बाहिरबाट आएका मानिस हेटौंडामा किन बस्नुपर्ने आधार तयार गरौं ।’ उहाँले व्यवसाय मात्र होइन आउने आगन्तुकको सुरक्षामा ध्यान दिन आग्रह गर्नुहुँदै त्यसका लागि प्रशासन सहयोग गर्न तयार रहेको बताउनुभयो । मकवानपुर होटल एशोसिएसनका अध्यक्ष दिलिश गोबिन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० का अध्यक्ष फुर्वा लामा, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका सचिब हरी पन्त, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एशोसिएसनलाई क्रियाशील बनाइराख्न सहयोग गर्ने संस्थापकहरु शंकरलाल श्रेष्ठ र शालिकराम शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने एशोसिएसनको भवन निर्माणका लागि ५ कठ्ठा जमिन उपलव्ध गराएको भन्दै हेटौंडा उपमहानगरपालिकालाई कदरपत्र प्रदान गरिएको थियो ।