हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित ब्रह्मदिक् एकेडेमीमा ९ कक्षामा अध्ययनरत विद्यार्थीले मनहरी गाउँपालिका–१, चकरी भोर्लेटाँडीस्थित प्राथमिक विद्यालयका ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई करिब एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको ब्रह्मदिक् एकेडेमीका प्रिन्सीपल रामबाबु सापकोटाले जानकारी दिनुभएको छ । विद्यार्थीसँगै ब्रह्मदिक एकेडेमीका सञ्चालकद्वय भोलाप्रसाद शिवाकोटी र माधवप्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो ।
सामाजिक शिक्षा विषय अन्तर्गत विद्यार्थीको समाजसँग अन्तरघुलन हुन सके भविष्यमा समाजलाई राम्ररी बुझ्न सक्ने भावी नागरिक तयार हुने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको विद्यालयकी सहायक प्रिन्सीपल अर्चना दाहालले जानकारी दिनुभयो । विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बचत गरेको रकममा विद्यालयले पनि केही रकम योगदान गरी शैक्षिक सामग्री सहयोग गरिएको बताइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्राथमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापकको पनि उपस्थिति रहेको थियो ।