हेटौंडाः रोटरी क्लब अफ मकवानपुरको आयोजनामा बारा र सिन्धुली जिल्लामा मंगलबार भएको निशूल्क आँखा शिविरमा ७३ जनामा मोतिविन्दु पहिचान भएको छ । बारा जिल्लाको हिमालीवासमा २ सय ४८ जनाको आँखा परीक्षण गर्दा ४८ जनामा मोतिबिन्दु पहिचान भएको छ भने सिन्धुली जिल्लामा भएको शिविरमा १ सय ४२ जनाको आँखा परीक्षण गर्दा २५ जनामा मोतिबिन्दु पहिचान भएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
रोटरी क्लब अफ काठमाडौं मिड टाउनसँगको सहकार्यमा रोटरी क्लब अफ मकवानपुरले हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निशूल्क आँखा शिविरको आयोजना गरेको हो । आँखा शिविरको आयोजनाका लागि रोट्र्याक्ट क्लब अफ मकवानपुरको पनि सहयोग रहेको छ । निशूल्क आँखा शिविरमा मोतिविन्दु पहिचान भएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालसम्म ल्याउने र उपचारपछि घरसम्म पु¥याउने व्यवस्था रोटरी क्लबले नै गर्नेछ । आँखाको मोतिबिन्दुको उपचार पनि निशूल्करुपमा हुनेछ ।
रोटरी क्लब अफ मकवानपुरकै आयोजनामा आज बुधबार पनि सर्लाही जिल्ला र सिन्धुली जिल्लामा निशूल्क आँखा शिविरको आयोजना हुँदैछ भने भोलि बिहीबार मकवानपुरको कैलाश गाउँपालिका–९, नामटार र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा आँखा शिविरको आयोजना गरिँदैछ । शिविरमा मोतिबिन्दु पहिचान भएका विरामीको शुक्रबारदेखि शल्यक्रिया गर्न सुरु गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।