हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयमा प्रमुख भएर हाजिर भएको एक महिना पूरा भएसँगै प्रहरी नायव महानिरीक्षक (डिआईजी) दीपक थापाले प्रगति विवरण प्रस्तुत गर्नुभएको छ । माघ १२ गते प्रदेश कार्यालयको जिम्मेवारी सम्हाल्नु भएका डिआईजी थापाले लागुऔषध नियन्त्रण तथा कारवाही, फरार अपराधी पक्राउ, मुद्दा फस्र्यौट, हातहतियार नियन्त्रण, नदिजन्य प्राकृतिक स्रोतको दोहन नियन्त्रण, हराएकाको खोजतलास तथा सचेनामूलक कार्यक्रम, सवारी दुर्घटना, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुधार गरी फरक फरक शीर्षकमा प्रगति विवरण प्रस्तुत गरिएको छ ।
डिआईजी थापाको प्रगति विवरणमा प्रदेशभर एक महिनाको अवधिमा ३५ बिगाहा क्षेत्रफलको अवैध गाँजा र १ सय ६१ विगाहा क्षेत्रफलको अफिम खेती नष्ट गरिएको उल्लेख छ । यस्तै १ हजार ९ सय ८५ केजी गाँजा, ६० केजी चरेश, १ केजी अफिम, औषधीजन्य लागुऔषध २ हजार ४ सय ९८ पिस बरामद गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले एक महिनाको अवधिमा लागुऔषध मुद्दामा ६८ जनालाई नियन्त्रणमा लिएको छ । बागमती प्रदेशभर २ सय ३२ जना फरार अपराधी पक्राउ गरी ५१ बर्ष कैद जरिवाना र ३४ लाख ६० हजार ८ सय ७४ रुपैपाँ जरिवाना रकम संकलन गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
एक महिनाको अवधिमा जनघन्य अपराधसम्बन्धी १२ वटा, गम्भीर अपराधसम्बन्धी १६ वटा, अन्य १ सय ६५ वटा मुद्दा फस्र्यौट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले २ नाल लामो हतियार र १ नाल छोटो री ३ नाल हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले ८ हजार ६ सय लिटर तयारी मदिरा र १ हजार ९ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको छ । एक महिनामा प्रहरीले घरबाट हराएका भनी प्राप्त उजुरीका आधारमा ९९ जनालाई भेटेर परिवारको जिम्मा लगाएको छ ।
प्रदेश प्रहरी प्रमुख थापाले सार्वजनिक गर्नुभएको प्रतिवदेनमा २५ हजार ९ सय ७१ वटा सवारी साधनलाई कारवाही गरी दुई करोड ३९ लाख रुपैयाँ जरिवाना संकलन गरिएको छ । प्रदेश प्रमुख थापाले बागमती प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा ७ वटा प्रहरी इकाई निर्माणका लागि बजेट निकासाको अन्तिम चरणमा रहेको पनि जनाएको छ ।
यस अवधिमा डिआईजी थापाले ७ वटा जिल्ला प्रहरी कार्यालयसहित तल्लो तहको प्रहरी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने कार्य भएको छ । डिआईजी थापाले ७ जिल्लामा जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, संघ, संस्थाका प्रतिनिधि लगायत सरोकारवालासँग शान्ति, सुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
