हेटौंडाः ठूलो परिमाणमा लागुऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार राती २ बजेको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८, गोठडाँडाका प्रेम घलान र ठाकुराम मोक्तानको घरबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपाने र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय प्रेम घलानको घरबाट १ सय ६३ केजी गाँजा बरामद गरेको छ भने ४८ वर्षीय ठाकुराम मोक्तानको घरबाट १८२ किलो ४०० ग्राम गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले घलान र मोक्तानसहित बरामद भएको लागुऔषध गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएको छ । घलान र मोक्तानलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
