Home मुख्य समाचार आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती

हेटौँडा–११ स्थित बुद्धपार्कस्थित गौतम बुद्धको मूर्ति ।

हेटौँडा : वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५७० औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । आज बुद्ध जयन्ती र उभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए । हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

बुद्ध जयन्तीको अवसरमा मकवानपुरमा रहेका विभिन्न गुम्बाहरुमा आज बौद्ध धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाउँदै छन् । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘संघम् शरणम् गच्छामि’ को मन्त्र जप गरिन्छ ।

Exit mobile version