हेटौंडाः बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र वडा तहमा खटिने सहजकर्ता तथा वडाका सम्पर्क व्यक्तिका लागि तालिम सञ्चालन गरेको छ । २०८० सालसम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेका २० जना सहजकर्तासहित सम्पर्क व्यक्तिलाई बालमैत्री स्थानीय शासनसम्बन्धी क्षमता विकास तालिम सुरु गरिएको हो ।
तालिमका क्रममा सजकर्ताहरुलाई नगरका विभिन्न वडाका बालबालिकाको तथ्याङ्क संकलनका क्रममा गर्ने समन्वय तथा सहजीकरणका विषयमा जानकारी गराइएको उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । उपमहानगरले हाललाई असार मसन्तसम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरिने छ ।
तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा बालमैत्री स्थानीय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पूरा गर्ने जिम्मेवारी दृढताका साथ पूरा गर्न निर्देशन दिइन् । उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भीर रुपमा लिँदै समाज रुपान्तरणको काममा सक्रियताका साथ लाग्न नगर प्रमुख लामाले आग्रहसमेत गर्नुभएको छ । उहाँले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउन जोड दिनुभएको छ ।
चार दिनसम्म सञ्चालन हुने तालिममा बालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौवेले सहजीकरण गर्नुहुनेछ । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ । संघीय सरकारले २०८७ सम्म नेपाललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ ।
