कुनै समय रिफर अस्पतालको उपमा पाएको हेटौंडा अस्पतालको स्वास्थ्य उपचार सुविधा प्रभावकारी बनिरहेको छ । पछिल्लो समय हेटौंडा अस्पतालमा भौतिक पूर्वाधार विकाससँगै जनशक्ति व्यवस्थापन हुँदै गए पनि हेटौंडा अस्पतालमा स्वास्थ्य सपचार सेवा सहज बन्दै गएको हो । हेटौंडा अस्पताललाई बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा विकास र विस्तार गर्ने काम अघि बढिरहेको छ । अस्पतालको भौतिक पूर्वाधार विस्तार तथा जनशक्ति व्यवस्थापनमा संघीय र प्रदेश सरकारले सहयोग गर्दै आएको छ । संघीय सरकारको बजेटमा निर्मित अस्पतालको नयाँ भवन मंगलबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । करिब ३५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अस्पताल भवनको उद्घाटन गरिएको हो । केही महिना अघिदेखि नै नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन गरिएको भए पनि औपचारिक उद्घाटन गरिएको थिएन ।
अस्पताल भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज र सुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जनताकै घरदैलोमा सामान्य औषधीमुलोदेखि अत्याधुनिक प्रविधियुक्त स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । वातावरणीय प्रदूषण तथा खानपान तथा जीवनशैलीमा भइरहेको परिवर्तनका कारण धेरै मानिस रोगी बन्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट धेरै नेपाली वञ्चित भइरहेको अवस्थामा अस्पतालहरुको विकास र विस्तारले स्वास्थ्य उपचार सेवा सहज बन्ने आशा गर्न सकिन्छ । हेटौंडा अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएर उद्घाटन भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने निश्चित छ । हेटौंडा अस्पतालको भौतिक विकाससँगै मकवानपुरबासीले विभिन्न विशेषज्ञ चिकित्सकबाट प्रायः सबै रोगको परीक्षण तथा उपचार सेवा पाउन थालेका छन् । हेटौंडा अस्पताललाई प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा विकास गर्न उपचार सेवा विस्तारसँगै शैया थप्नु आवश्यक छ । यसबाट अस्पतालले प्रदान गर्ने स्वास्थ्य उपचार सेवा थप प्रभावकारी हुने सम्भावना छ ।
अहिले हेटौंडा अस्पतालले २ सय शैयाबाट विरामीको उपचार दिइरहेको छ । नयाँ भवन निर्माण भएपछि अस्पतालमा ७० शैया थपिएको छ । पुरानो भवनमा निकै साँघुरो ठाउँमा ८ शैयाको इमर्जेन्सी सेवा दिइरहेको अस्पतालले नयाँ भवन निर्माणसँगै इमर्जेन्सीलाई २४ शैयामा विस्तार गरेको छ । अस्पतालमा १७ शैयाको आइसीयु र २० शैयाको एचडीयु उपचार कक्ष रहेको छ । हेटौंडा अस्पतालले ६ शैयामा मृगौला रोगको डायलासिस सेवा पनि उपलब्ध गराइरहेको छ । अस्पतालले छिट्टै ५ शैयाको एनआइसीयु उपचार कक्ष सञ्चालनको तयारी गरिरहेको छ । करिब ५ वर्षअघि सम्म मुस्किलले ५ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेको अस्पतालमा अहिले ३८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । थप ५० जना मेडिकल अधिकृतसहित ३८७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अस्पतालमा कार्यरत छन् । २०१६ सालमा १५ शैयासहित सेवा सुरुवात भएको हेटौंडा अस्पतालबाट अहिले दैनिक औसत ७५० जना विरामीले वहिरंग उपचार सेवा लिइरहेका छन् ।
बागमती प्रदेशको राजधानी बनिसकेपछि हेटौंडाबाटै सबै प्रकारकै स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक छ । राजधानीमै आम नागरिकले स्वास्थ्य उपचार सुविधा पाउन नसक्ने अवस्था प्रदेश र देशकै लज्जास्पद हुने भएकाले पनि हेटौंडामा सुविधासम्पन्न अस्पताल निर्माण हुनुपर्छ । आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकसहितको सुविधासम्पन्न अस्पतालको रुपमा तत्कालका लागि हेटौंडा अस्पताललाई विकास गर्नुको विकल्प छैन । नयाँ संरचना निर्माण गर्नुभन्दा भएकै संरचनामार्फत् प्रभावकारी स्वास्थ्य उपचार सुविधा प्रदान गर्न बागमती प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले देखाएको अग्रसरतालाई सकारात्मक मान्नुपर्छ । निर्माण सुरु भएको अस्पतालको ६ तले भवन समयमै निर्माण सम्पन्न भएमा हेटौंडामै अझ गुणस्तरीय स्वास्थ्य उपचार सेवा थप सहज हुने निश्चित छ ।