हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको आयोजनामा कक्षा–९ र १० को नयाँ पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार पार्ने विषयमा दुई दिने कार्यशाला सुरु भएको छ । शनिबार बिहान एक समारोहका बीच कार्यशालाको उद्घाटन गरिएको छ ।
प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिका उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यशाला उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको पनि आतिथ्य रहेको थियो । कार्यशालामा विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी छन् ।
कार्यशालामा प्रा.डा. सिद्धिप्रसाद कोइराला, टिकाराम भट्ट, रमेश प्रसाद अगस्ती र जयप्रकाश लाल श्रीवास्तवले सहजीकरण गर्नुहुनेछ । मकवानपुर जिल्लामा १० कक्षासम्म पठनपाठन हुने निजी विद्यालयको संख्या ४६ वटा छ ।