अधिवक्ता ऋषि के.बी.
फौजदारी दायित्वः
दायित्व कर्तव्य वा जिम्मेवारी हो । कुनै काम गर्नुपर्नेमा नगरेमा र नगर्नुपर्ने काम गरेमा परिणामस्वरुप बहन गर्नुपर्ने जिम्मेवारीलाई दायित्व भनिन्छ । फौजदारी कानुन र न्यायमा आपराधिक दायित्वको महत्वपूर्ण स्थान रहेको हुन्छ । दायित्वको विषयलाई अलग्याउने हो भने फौजदारी कानुन निस्क्रिय र बिना अर्थको बन्छ । आपराधिक दायित्व भन्नाले जब एक व्यक्तिले कानून तोड्छ तब त्यस कार्यका लागि कानूनीरूपमा उसलाई जिम्मेवार ठहराउन सकिन्छ भन्ने हो ।
बिधिशास्त्री साल्मोण्डका अनुसार दायित्व आवश्यकताको त्यो बन्धन हो, जो कसूरदार र कसूरको उपचारको बीचमा निहित रहन्छ ।
अर्का कानुनविद् असबर्नले कानुन उल्लंघन गरी कुनै गल्ती गर्ने व्यक्ति उक्त कार्यका लागि जिम्मेवार हुन्छ भनेका छन् । फौजदारी कानुनका मान्यताहरु उल्लंघन गर्नु अर्थात कानुनी कर्तव्य पूरा नगर्नु र त्यसको नतिजास्वरुप कानुनी परिणाम भोग्नुपर्ने अनिवार्य न्यायिक बन्धन नै फौजदारी दायित्व हो । साधारण भाषामा भन्नुपर्दा जसले गल्ती वा कसूर वा अपराध गर्दछ, उसलेनै आफ्नो गल्ती वा कसूर वा अपराधप्रति जिम्मेवार वा उत्तरदायी हुनुपर्दछ । यसरी फौजदारी दायित्वको सिर्जना हुन्छ । फौजदारी कानुनको बर्खिलाप जाँदा उत्पन्न हुने परिस्थिति फौजदारी दायित्व हो ।
“कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सिद्धान्त अनुरुप कानुनतः अधिकारको बारेमा जानकार सक्षम व्यक्तिले कानुनी कर्तव्यबाट आफूलाई अलग्याउन मिल्दैन । कानुन जानेको हुनुपर्दछ । कानुनी व्यवस्था थाहा नभएको भन्ने कुरा पुष्टि गर्न नसकिने भएकोले अदालतले कानुन जानेकै हुन्छ भन्ने अनुमान गर्दछ र फौजदारी दायित्वप्रति उसलाई आवश्यक कानुन बमोजिम सजायको हकदार मान्दछ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको धारा २५ मा व्यक्तिगत फौजदारी दायित्वसम्बन्धी व्यवस्था रहेको छ । जसमा विधानअनुसार अदालतलाई प्राकृतिक व्यक्तिहरूउपर अधिकारक्षेत्र रहने, अदालतको अधिकार क्षेत्रअन्तर्गतको अपराध गर्ने व्यक्ति यस विधानअनुसार सजायका लागि व्यक्तिगतरूपमा उत्तरदायी र भागी हुनेछ भनेर व्यवस्थाहरु गरेको पाइन्छ ।
त्यस्तै, नेपाल कानुन पत्रिका (नेकाप) २०७८, असोज महिना, अंकः ६, निर्णय नं. १०६७९ (वैदेशिक रोजगार कसुर मुद्दामा सर्वोच्च अदालत कुनै अपराधमा आरोपित व्यक्तिको संलग्नता प्रमाणले जुन तहसम्म पुष्टि गर्दछ सोही तहसम्मको कानूनले तोकेको सजाय कसुरदारले भोग्नुपर्ने भनेर दायित्व र दायित्वको सजायको हदबारे उल्लेख गरेको पाइन्छ ।
आपराधिक दायित्व निम्न अनुमानहरुमा आधारित छः
– सामान्यतया मानिसलाई नैतिक (जिम्मेवार) प्रतिनिधिको रूपमा हेरिन्छ । र, उसलाई आफ्नो कार्यप्रति जिम्मेवार मानिन्छ ।
– यसको मतलब मानिस कारक हुन सक्षम छ ।
– उ सामाजिक र कानुनी कुरा बुझ्न सक्षम छ ।
– उसँग स्वतन्त्र इच्छा छ ।
– यसरी उसले आफ्नो कार्य नियन्त्रण गर्न सक्छ र कानुन सम्मत रहे÷नरहेको छुट्याउन सक्छ ।
– मानिस जिम्मेवार हुन्छ किनकि उस्को कार्यसम्बन्धी कारण वा उद्देश्य, नियन्त्रण र छनौटको सक्षमता हुन्छ ।
फौजदारी दायित्वको बारेमा छलफल गर्नु भन्दा पहिले अपराधका तत्वहरुको बारेमा सामान्य जानकारी राख्नु जरुरी हुन्छ ।
फौजदारी अपराधका तत्वहरुमा उल्लेखित दुई तत्वहरु मुख्य रहेका हुन्छन्ः
क) आपराधिक कार्यः आपराधिक कार्यको अर्थ निषेधित फौजदारी कानूनद्वारा निषेधित मानव आचरण (कार्य, बहिष्कार, राज्य मामिला र कब्जा) बुझिन्छ । यो आचरण वा कार्य हो जुन शारीरिक रूपमा देखिने र उपस्थिति आवश्यकता हुन्छ । फौजदारी दायित्वको आधारमा हुने अपराधको वर्गीकरण सबैमा यो तत्व आवश्यक मानिन्छ ।
र, ख) आपराधिक मनसायः यो व्यक्तिको कसुर गर्दाको मानसिक अवस्थाको वर्णन गर्न प्रयोग गरिने कानुनी शब्द हो । यसले आपराधिक अभिप्रायलाई जनाउँछ । ल्याटिन शब्दबाट आएको यसको शाब्दिक अर्थ “दोषी दिमाग” हो । आपराधिक मनसाय कुनै विशेष अपराधको विशेष प्रतिवादीलाई सजाय दिनको लागि वैधानिक रूपमा आवश्यक पर्ने मानसिक अवस्थालाई जनाउँछ ।
फौजदारी दायित्वको आधारमा निम्नानुसार अपराधको वर्गीकरण गर्न सकिन्छ ।
क) सापेक्ष दायित्व अन्तर्गतका अपराधहरुः सापेक्ष दायित्व अन्तर्गतको अपराध भन्नाले आपराधिक कार्य र आपराधिक वा दुषित मनसाय दुवै अनिवार्य रूपमा आवश्यक हुन्छ । यस अन्तर्गत मनसाय तत्वलाई आपराधिक कार्यसँग अनिवार्य जोडेर हेरिन्छ । मानसिक रुपमा पागल भएका व्यक्ति वा नाबालकबाट हुन जाने अपराधका लागि दूषित मनसायको अभावमा दायित्वबाट उन्मुक्ति दिइन्छ । ज्यानसम्बन्धी कसूर, चोरी, जस्ता अपराधहरु यस सापेक्ष दायित्व अन्तर्गत अपराधहरु हुन् ।
ख) निरपेक्ष दायित्व अन्तर्गतका अपराधहरुः यस अन्तर्गत जब आपराधिक दायित्व सृजना हुन आपराधिक कार्य नै मात्र भएनि हुन्छ । आपराधिक वा दूषित मनसाय नभएपनि हुने खालका अपराध निरपेक्ष दायित्व अन्तर्गतका अपराध हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २९ मा निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुनेः यस ऐन वा कानून बमोजिम निरपेक्ष आपराधिक दायित्व हुने कसूरमा त्यस्तोे कसूर मनसायपूर्वक गरेको हो वा होइन भन्ने कुरा परीक्षण हुने छैन भन्ने कानुनी व्यवस्था रहनुले पनि आपराधिक कार्य नै अपराध पुष्टि हुन र सोका लागि दायित्व सृजना हुने कुरामा स्पष्ट हुन सकिन्छ । उदाहरणका लागि, गाली बेइज्जती, मानहानी हुने गरी लेख लेख्ने र प्रकाशित गर्ने लेखकको आपराधिक मनसाय अर्थात नियत खराब थियो भनी प्रमाणित गरिरहनु पर्दैन । कसैले कसैलाई ताकेर गोली प्रहार गर्दछ भने आपराधिक कार्यनै फौजदारी दायित्व बहन गर्न पर्याप्त हुन्छ ।
ग) परदायित्व अन्तर्गतका अपराधहरुः एक व्यक्ति वा कुनै अपराधका लागि अन्य व्यक्ति दोषी हुनु परदायित्व अन्तर्गतका अपराध हो । कतिपय विशेष अवस्थामा एक व्यक्तिले गरेको कार्यका लागि अर्को व्यक्ति फौजदारी दायित्व बहन गर्नुपर्ने स्थितिमा रहन्छ । सन् १७३० मा बेलायतमा दुष्कृतिसम्बन्धी कानुनमा हगिंग्सको मुद्दामा परदायित्वको सिद्धान्तलाई मान्यता दिएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (५) मा कुनै सवारीको धनी वा सवारी जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ भन्ने कानुनी व्यवस्थाबाट परदायित्व अन्तर्गतका अपराधको एक उदाहरणको रुपमा बुझ्न सकिन्छ ।
घ) अपूर्णदायित्व अन्तर्गतका अपराधहरुः एक व्यक्ति अपूर्ण अपराधका लागि समेत जिम्मेवार छ । आपराधिक उत्तेजनाको कसुरमा, आपराधिक षड्यन्त्र र आपराधिक प्रयासको कर्मको सजाय हुनुपर्छ भन्ने फौजदारी न्यायको सिद्धान्तसमेत हो । अपूर्णदायित्व अन्तर्गत अपराधलाई तीन प्रकारमा वर्गीकरण गरिएको छः उत्प्रेरणा, आपराधिक षड्यन्त्र र प्रयास । केहि गलत वा वारदात गर्न प्रोत्साहन वा सहयोग गर्नु, सह–क्रियाकलाप र समर्थन अपूर्णदायित्व अन्तर्गतका अपराध हुन् । पूर्ण अपराधको परिणाम नआएको अवस्थामा उद्योग सम्बन्धी कसूर अपूर्णदायित्व अन्तर्गतका अपराध अन्तर्गत पर्दछ । अपराध परिणाममुखी हुन सक्छ भने आचरणसँग सम्बन्धित अपराध पनि हुन सक्छ । अपहरणको तयारी, कुनै तेस्रो व्यक्तिको अवरोध वा कुनै अन्य कारणले करणी, हत्या, चोरी, जस्ता अपराधले पूर्णता नपाएको अवस्था, बिध्वङ्सात्मक वा आतंकवादी कार्यको तयारी, झुठा प्रमाण पेश गर्ने वा झुठा बकपत्र गर्ने, जस्ता कार्यहरुमा पनि फौजदारी दायित्व बहन गर्नुपर्ने हुन्छ ।
फौजदारी दायित्वको सम्बन्धमा बुझ्न सर्वोच्च अदालतको निम्न नजिर सिद्धान्त अध्ययन गर्नु उपयुक्त हुन्छ ।
नेपाल कानुन पत्रिका २०७४, कार्तिक महिना, अंकः ७, निर्णय नं. ९८४४ (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतले “फौजदारी दायित्वको वर्गीकरणअन्तर्गत मनसाय सापेक्ष दायित्व एक हो । जसमा आपराधिक कार्य र आपराधिक मनसाय दुवैको समायोजनमा हुने अपराधहरू मनसाय सापेक्ष दायित्व हुन् । तर निरपेक्ष दायित्व यसको अपवाद हो । आपराधिक मनसायबिना गरेको कार्य अपराध हुँदैन भन्ने फौजदारी दायित्वको सर्वमान्य सिद्धान्तसमेत रहेको पाइन्छ । मानसिक विचलन भएको अथवा मानसिकरूपमा अस्वस्थ भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक दायित्वबाट उन्मुक्तिको प्रतिरक्षाको आधार बन्दछ । यसको कारण उसले गरेको कार्य या त उसले आफूले गरिरहेको छु भन्ने जानकारी राख्दैन या त आफूले गरेको कार्य गलत हो भन्ने जानकारी राख्दैन । यसैकारण स्वतन्त्र इच्छा र स्वायत्त सोचबाट निजले काम गरेको हुँदैन भन्ने मान्यता सर्वत्र स्वीकार्य विषय बनेको पाइने ।
विवेक प्रयोग गर्न सक्ने, आफूले गरेको कार्यको जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले पूर्वयोजना बनाई स्वतन्त्र इच्छाबाट, स्वायत्त किसिमको स्वेच्छापूर्वक गरेको आपराधिक कार्यमा मात्र दायित्ववान् बनाउन सकिने । (प्रकरण नं. ५) भन्ने नजिर सिद्धान्त प्रतिपादित गरेको पाइन्छ ।
निष्कर्ष
हाम्रो समाजमा धेरै विकृतिहरू छन्, जसमध्ये एउटा अपराध हो । समाजको अभिन्न अंगको रुपमा अपराध परापूर्वकालदेखि वर्तमानसम्म रहिरहेकै छ । समय र परिस्थितिसँगै अपराधको स्वरुप पनि परिवर्तन भइरहेको छ । समाजको शान्ति खलल पु¥याउने, बैयक्तिक हक अधिकार हनन् हुने, गतिविधिहरू जसलाई कानुनी व्यवस्था अन्तर्गत कानुनको उल्लङ्घन गरेको मानिन्छ । उक्त कार्य वा अपराध गर्ने व्यक्ति सो कार्य वा अपराधको लागि जिम्मेवार हुन्छ र सजायको भागीदार बन्छ । email: sshetauda@gmail.com (लेखक जिल्ला बार एसोसिएसनका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)