मुलुकका अधिकांश सामुदायिक विद्यालयको अवस्था सन्तोषजनक छैन । घट्दो विद्यार्थी संख्या तथा कमजोर शैक्षिक गुणस्तरका कारण धेरैजसो सामुदायिक विद्यालय समस्याग्रस्त छन् । दक्ष र योग्य शिक्षक भए पनि प्रभावकारी व्यवस्थापन तथा नेतृत्वको अभावमा सामुदायिक विद्यालयले आशातित उपलब्धी हासिल गर्न सकेका छैनन् । केही सामुदायिक विद्यालयहरुको अवस्था भने फरक छ । शैक्षिक गुणस्तर राम्रो भइसकेका र वृद्धि हुँदै गएका विद्यालयहरुको अवस्था फरक छ । ती विद्यालयलाई विद्यार्थीको संख्याको खासै अभाव पनि छैन । त्यस्ता विद्यालयले प्रवेश परीक्षा लिएर उत्कृष्ट विद्यार्थीमात्रै भर्ना गर्न सक्षम भइरहेका छन्, जसले शैक्षिक गुणस्तर वृद्धि गर्न खासै चुनौती पनि हुँदैन । शैक्षिक गुणस्तर राम्रो भएका सामुदायिक विद्यालयको व्यवस्थापन समितिप्रति अभिभावकको चासो बढी नै हुने गरेको छ । समितिमा बसेर काम गर्न अभिभावहरुको लर्को लाग्ने गरेको छ ।
हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय पनि देशकै अब्बल विद्यालयमा गनिने गरेको छ । लामो समयदेखि विद्यालयको एसएलसी÷एसईईको नतिजा उत्कृष्ट बनिरहेका कारण उक्त विद्यालय पनि उत्कृष्ट बनेको छ । विद्यालयको अधिकांश पक्ष राम्रो हुनुमा उक्त विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ता प्रधानाध्यापक, पठनपाठनमा संलग्न शिक्षकहरु, विद्यार्थी, अभिभावक सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ । यी सबै पक्षको संयोजनकारी र व्यवस्थापकीय भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको विद्यालय व्यवस्थापन समितिको पनि विद्यालयलाई उत्कृष्ट बनाउन महत्वपूर्ण हात रहेको छ । यसैकारण आधुनिक राष्ट्रिय माध्यमिक विदालयको व्यवस्थापन समितिको सदस्य बन्न अभिभावकको विशेष आकर्षण देखिएको छ । गत शनिबार भएको विद्यालयको अभिभावक भेलामा व्यवस्थापन समिति सदस्य बन्न २१ जना अभिभावक आकांक्षी देखिनुले यसलाई पुष्टि गर्दछ । अभिभावकमध्येबाट चयन हुने ४ जना सदस्यका लागि ५ गुणाभन्दा बढी सदस्यहरु आकांक्षी देखिनुले विद्यालय व्यवस्थापनको जिम्मेवारी लिन अभिभावक उत्साहित बनेको मान्न सकिन्छ ।
विद्यालय व्यवस्थापन समितिमा बस्न आकांक्षी देखिएका अभिभावकसँग विद्यालयको विकास तथा व्यवस्थापनको बलियो एजेण्डा भने छैनन् । विद्यालय विकासको स्पष्ट योजनाबिना नै अभिभावकहरु व्यवस्थापनप्रति आकांक्षी देखिनुले आगामी दिनमा व्यवस्थापन समिति प्रभावकारी बन्न नसक्ने सम्भावना देखिएको छ । व्यवस्थापन समिति चयनमा उम्मेदवारी दिएका अधिकांश अभिभावकले विद्यालयको शैक्षिक गुणस्तर उकास्न, व्यवस्थापन प्रभावकारी बनाउन, शिक्षाको गुणस्तर तल्लो स्तरदेखि नै बलियो बनाउन, विद्यार्थीको आकर्षणलाई कायम राख्न, भौतिक विकासलाई अघि बढाउन आफू आकांक्षी बनेको बताएका छन् । यस्तै, नियमित गृहकार्य परीक्षण गराउने वातावरण निर्माण गर्न, विद्यालयको कमीकमजोरी तथा त्रुटीलाई सच्याउन, पठनपाठन सुधार गर्न आकांक्षी बनेको पाइएको छ । कतिपय अभिभावक भने आफूले विद्यालयलाई समय दिन सक्ने भएकाले व्यवस्थापन समितिमा बस्न आकांक्षी बनेको पाइएको छ । आकांक्षीहरुले विद्यालयको भौतिक विकास र शैक्षिक स्तर वृद्धि गर्न चाहेको भने पनि त्यसको स्पष्ट योजना र कार्यक्रम उनीहरुसँग छैन ।
विद्यालय व्यवस्थापनप्रति अभिभावकको आकर्षण बढ्नु सुखद् हो । तर, राजनीतिक आस्था र भागबण्डाको आधारमा विद्यालय व्यवस्थापन समितिको सदस्य, अध्यक्ष बन्न आकांक्षी बन्ने क्रम बढ्दै गएको छ । सामुदायिक विद्यालयमा पठनपाठनभन्दा बढी राजनीति हाबी हुने आरोप लाग्ने गरेको अवस्थामा व्यवस्थापन समितिदेखि नै राजनीतिक रङ देखिँदा त्यसले सकारात्मक नतिजा नदिन सक्छ । विद्यालयमा हुने राजनीति अन्त्य गर्न व्यवस्थापन समितिबाटै सुरुवात हुनु आवश्यक छ । व्यवस्थापन समितिमा रहेर काम गर्न आकांक्षा राख्नेहरुले विद्यालयको विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट र ठोस योजना आवश्यक हुन्छ ।