कृषि सामग्री संस्थानको हेटौंडास्थित गोदाममा रहेको रासायनिक मल ।

हेटौंडाः लकडाउनका बाबजुद मकवानपुर जिल्लामा रासायनिक मलको विक्री वितरण कार्य जारी छ । अन्नवालीको खेतीका लागि अहिले वर्षकै प्रमुख समय हो । यतिबेला विशेषगरी पहाडी क्षेत्रमा मकैको खेती हुने समय हो । पहाड र तराईमा चैते धानबालीमा मल हाल्ने समय भएको छ ।

मकवानपुरमा कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी अनुदानको रासायनिक मल युरिया, डीएपी र पोटास विक्री गरिरहेको छ । आज बिहिबार कृषि सामग्री संस्थानले मल वितरण गरेको छ । जिल्लाका विभिन्न पालिकाबाट कृषि सहकारीले मल लगेका छन् । कृषि सामग्री संस्थानको गोदाममा आज बिहान ५६ टन युरिया, दुई सय ८६ टन डीएपी र ३१ टन पोटास मौज्दात थियो । आज दिनभर सहकारीलाई एक टनका दरले विक्री गरिएको संस्थानको हेटौंडास्थित कार्यालयका स्टोर किपर छवि शर्माले जानकारी दिनुभयो ।

कृषि सामग्री संस्थानको गोदामबाट सहकारीलाई विक्री गरिएको मल लोड गर्ने मजदुरहरु ।

कृषि सहकारीहरुले यसअघि लगेको मल किसानलाई विक्री गरेको वडा कार्यालयबाट प्रमाणित गरेर ल्याएपछि मात्रै आज मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । कृषि सामग्री संस्थान र सल्ट ट्रेडिङ कर्पोरेसनसँग मकवानपुर जिल्लाका सहकारीहरुले सहुलियतमा खरिद गरेको मल व्यवसायीमार्फत महंगोमा विक्री भइरहेको भन्ने गुनासो समेत आइरहेको छ ।

सहकारीले खरिद गरेको मल ट्रकमा लोड गर्दै एक मजदुर ।

कृषि सामग्री संस्थानको हेटौंडा–२, सिद्धार्थपथस्थित गोदाममा रासायनिक मल लिनका लागि आएका ढुवानीका साधनहरु ।