हेटौंडाः पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरबाट मकवानपुर प्रहरीले लागुऔषध बरामद गरेको छ । भारतको रक्सौलबाट डिजेल लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्याङकरबाट प्रहरीले एक सय मिलिलिटरको किनसिरेक्स नामक लागुऔषध १५५ वटा बोतल बरामद गरेको जनाएको छ ।
बुधबार राती साढे ९ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेमा प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा लागुऔषधसहित ट्याङकरका चालक हेटौंडा–४, कमलडाँडा बस्ने ४५ वर्षीय सेते लामा र मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ घर भई हाल हेटौंडा–४, कमलडाँडा बस्ने ३३ वर्षीय मानबहादुर थोकरलाई नियन्त्रणमा लिएको छ । ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध ओसारपसार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुन सक्ने कानूनी प्रावधान रहेको छ ।