हेटौंडाः बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठक आज बिहान बसेको छ । बैठकबाट बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देविप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । ढकाललाई प्रदेश राज्यमन्त्री सरह सेवा सुविधा रहनेगरी मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुनुहुन्छ । उहाँले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गर्नु भएको थियो । अर्थ तथा राजनीति क्षेत्रका जानकार ढकाल अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गर्नु भएको थियो । उहाँले हालै “समाजवाद र नेपाल” नामक पुस्तक सार्वजनिक गर्नु भएको थियो । हालसम्म उहाँका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।