दिनहुँजसो भ्रष्टाचारी पक्राउ परेको समाचारले आम नेपालीलाई भ्रष्टाचारप्रति अभ्यस्त बनाइसकेको छ । आर्थिक समृद्धि ल्याएर आफ्नो क्षेत्र, प्रदेश र देशको विकास गर्छु भनेर निर्वाचन जितेका जनप्रतिनिधिसमेत भ्रष्टाचारमा संलग्न भइरहेका छन् । निर्वाचनको समयमा उम्मेदवारले गर्ने भाषणमा मात्र नभई उम्मेदवार सम्बद्ध राजनीतिक दलले सार्वजनिक गर्ने घोषणापत्रमा समेत भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरिन्छ । मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था रहे पनि लोकतन्त्रको आधारस्तम्भ मानिने सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार मौलाउँदै गएको छ ।

भ्रष्टाचारबाट थिलोथिलो भएको हाम्रो देशमा सुशासन र समृद्धिका कुरा भाषण र नारामा मात्र सिमित बनिरहँदा अन्तर्राष्ट्रियरुपमै नेपालको बद्नाम भइरहेको छ । भ्रष्टाचार निवारणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनले मुलुकको भ्रष्टाचारको विकराल अवस्थालाई उजागर गर्ने गरेको छ ।

नेपाल यस वर्ष पनि भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा कायम रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकले नेपालमा भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा कायमै रहेको पाइएको हो । सूचकांकमा नेपालले ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा परेको छ । १०० पूर्णाङ्कको मूल्यांकनमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा केही सुधार भएको पाइएको छ । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो । भ्रष्टाचार व्याप्त मुलुकहरुको सूचीमा नेपालले अघिल्लो वर्षभन्दा ७ स्थान सुधार गरे पनि भ्रष्टाचार हुने देशको श्रेणीमै कायम रहेको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय पहरेदार मानिने संस्थाको यो सूचकांकले नेपालको छविमा केही सुधार भएको देखिए पनि ‘भ्रष्ट’ देशको रुपमा अंकित भएको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट अवस्था जनाउने गर्दछ । ५० भन्दा कम अंक ल्याउनेलाई भ्रष्ट मुलुकको सूचीमा राखिन्छ भने ३० अंकभन्दा कम ल्याउनेलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ ।

ट्रान्सपरेन्सीको सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । दक्षिण एसियाका देशहरुमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान देखिएको छ । भुटान ६८ अंकसहित २५ औं स्थानमा रहँदा मालदिभ्सले ४० अंक ल्याएर ८५ औं स्थानमा पुगेको छ । यस्तै, भारत ४० अंकसहित ८५ औं, श्रीलंका ३६ अंकसहित १०१ औं र नेपाल ३४ अंकसहित ११० औं स्थानमा रहेको ट्रान्सपरेन्सीको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तान २७ अंक प्राप्त गरेर १४० औं स्थानमा छ भने बंगलादेश २५ अंक ल्याएर १४७ औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ । अफगानिस्तान २४ अंक ल्याएर १५० औं स्थानमा रहेको छ । छिमेकी मुलुक चीन ४५ अंक प्राप्त गरी ६५ औं स्थानमा छ ।

ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालले सूचकांक र स्थानमा थोरै सुधार भए पनि भ्रष्टाचार बढी हुने मुलुकको श्रेणीबाट मुक्त हुन सकेको छैन । यसले नेपालमा भ्रष्टाचारको अवस्था उस्तै रहेको बुझ्न सकिन्छ । भ्रष्टाचारकै कारणले नेपाल विश्व समुदायमा बदनाम भइरहेको छ । ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को नारा जतिसुकै लगाए पनि व्यवहारमा कार्यान्वयन भएको पाइँदैन । भ्रष्टाचार अन्त्यका लागि थुप्रै कानुनी र नीतिगत व्यवस्था लागू भएका छन् । भ्रष्टाचार अन्त्य गर्नैका संवैधानिक अंगको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्रियाशील छ । भ्रष्टाचारबिरुद्ध काम गरिरहेका राष्ट्रिय सतर्कता केन्द्रलगायतका विभिन्न सरकारी संरचनासमेतको प्रयासबाट समेत भ्रष्टाचार उल्लेख्य कम हुन नसक्नु विडम्बना बनिरहेको छ ।