हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेर ५० मिनेटको समयमा मनहरी–६, नयाँबस्तीमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–१५ का अन्दाजी ४० वर्षीय शंकरत्न तितुङ गम्भीर घाइते भएका थिए । तितुङको उपचारको क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्याङ्कर चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२ का ३६ वर्षीय ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।