मन्त्री श्रेष्ठले संचार सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः “गल्ली गल्ली” ललितपुर र “मेरो गाउँ–सिकाइ केन्द्रित गाउँ” परियोजनाले सञ्चालन गरेको अन्तरक्रियामा जनप्रिय माध्यमिक विद्यालयलाई मिडिया सामग्री हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ लाई मिडिया सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले स्टुडियो मिक्सचर, माईक लगायतका सञ्चार सामग्री बिहीबार हस्तान्तरण गर्नुभएको छ । सामुदायिक विद्यालय अन्तर्गत देशकै पहिलो मिडिया कक्ष र स्टुडियो स्थापना गरी सञ्चालनमा ल्याएको जनप्रिय माविले विद्यार्थीहरुमा प्रविधीमैत्री र जीवनोपयोगी सीप प्रदान गर्नेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले जनप्रिय नमूना माविले नमूना कार्य गरिरहेको र थप सहयोगको लागि प्रदेश सरकार सकरात्मक रहने समेत जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले जनप्रिय माविका मिडिया संयोजक सुनिल गौतमलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । मोबाईल आर्ट्स फर पिस र जनप्रिय माविको सहकार्यमा जनप्रियमा स्टुडियो निर्माण गरिएको म्यापका जिल्ला फोकल पर्सन युक्तलाल विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा विद्यालय शिक्षाबाट विभिन्न कारणले छुटेका बालबालिकाको सिकाइमा देखिएका समस्यामाथि मन्त्री श्रेष्ठले ठोस पहल गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ। परियोजनाले सुर्खेत, सर्लाही र मकवानपुर गरी ३ वटा जिल्लामा कार्यक्रम गर्दै आएको छ । परियोजनाका तर्फबाट जीवन शर्माले मन्त्री श्रेष्ठलाई कार्यपत्र समेत पेश गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथी बागमती प्रदेशकी प्रदेशसभा सदस्य भारती पाठकले शिक्षामा देखिएका यस्ताखाले सिकाईले समस्यालाई अनुसन्धानका माध्यमबाट तथ्य प्रस्तुत गर्न सकेकोमा परियोजनालाई धन्यवाद समेत दिनुभएको छ । प्रदेश तहबाट मात्र नभई संघीय सरकारकै समेत ध्यान जानुपर्ने विषयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने उहाँले बताउनुभयो । प्रदेश तहबाट बन्नुपर्ने ऐन कानुनमा पनि शिक्षाजस्तो क्षेत्रमा आफू गम्भिर भएर लागिपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तान, शिक्षकहरु डा. विजय नेपाल,केशव सञ्जेल, रमेश रिजाल, उमा श्रेष्ठ, सरोकारवाला अभिभावक तथा स्थानीय बुद्धिजीवि एवम् सरोकारवालाको उपस्थिति रहेको थियो ।