आयातमुखी अर्थतन्त्र भएको मुलुकमा स्थानीय उत्पादनको प्रवद्र्धन आवश्यक हुन्छ । आयात कम गरेर मुलुकलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादन वृद्धि गर्नुपर्छ । उत्पादन वृद्धिसँगै त्यसको सहज बिक्री वितरण र उपभोगका लागि पनि प्रेरित गर्नुपर्छ । स्थानीय उत्पादनको प्रचारप्रसार र प्रवद्र्धनका लागि विभिन्न मेला, महोत्सव तथा प्रदर्शनीहरु गर्ने गरिन्छ । उद्योग, व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा औद्योगिक, व्यापार मेला तथा महोत्सवहरु हुने गरेका छन् । तर, यस्ता मेला, महोत्सव व्यावसायिक प्रवद्र्धनभन्दा खेल, मनोरञ्जन र खानपिनमा केन्द्रित हुने गरेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनभन्दा खेल र मनोरञ्जनलाई बढी प्राथमिकता दिइँदा मेला उद्देश्यमूलक र सार्थक हुन सक्दैन । महोत्सव आयोजना गर्नु एउटा सकारात्मक प्रयास भए पनि त्यसलाई उद्देश्यमूलक ढंगले सभ्य र संयमितरुपमा सम्पन्न गर्नसक्नु यसको सफलता हुन्छ । महोत्सवको सफलतालाई आर्थिक कारोबारको आँकडासँग भन्दा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न कति सफल भयो भन्ने दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा करिब ३ वर्षपछि हेटौंडामा व्यापार महोत्सव भएको हो । विगतमा वर्षेनि आयोजना गरिने यस्ता महोत्सव कोभिड–१९ का कारण हुन सकेको थिएन । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका छन् । महोत्सव उद्घाट गर्दै मुख्यमन्त्री जमकट्टेलले समृद्व र आत्मनिर्भर बागमती प्रदेश बनाउन यसले सहयोग गर्ने बताएका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको व्यापार व्यवसायको अवस्था सुधार्न महोत्सव सहयोगी हुने उनको भनाई छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न प्रदर्शनीमूलक महोत्सव आयोजना गर्नुपर्ने कतिपय व्यवसायीको माग रहेको थियो । महोत्सवमा बाहिरका व्यवसायी आएर व्यापार गर्दा स्थानीयको व्यापार प्रभावित हुने भन्दै मेलालाई बिक्रीमूलक भन्दा पनि प्रदर्शनीमूलक बनाउन माग गरिएको थियो ।

महोत्सवमा राजधानी काठमाडौंका विभिन्न उत्पादनदेखि जुम्लामा उत्पादन भएका मार्सी चामल र स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तु प्रदर्शनीमा राखिएको बताइएको छ । महोत्सवमा मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय कृषि उपज प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताइएको छ । स्थानीय प्रतिभालाई स्थान दिने उद्देश्यले गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सौन्दर्य प्रतियोगितासमेत गराइने आयोजकले जानकारी दिएको छ । महोत्सवका अवसरमा उद्यमीहरुलाई सम्मान र प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम पनि गरिने भएको छ । हेटौंडा–१० स्थित टीसीएन चौरमा सुरु भएको महोत्सवमा ३ सय ३७ वटा स्टल रहेका छन् । आगामी माघ २३ गतेसम्म सञ्चालन हुने महोत्वसबाट करिब ३० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

घरेलु उद्योग, कृषि तथा औद्योगिक उत्पादन, व्यापार, व्यवसाय, पर्यटन प्रवद्र्धन आदि उद्देश्य राखेर आयोजना हुने महोत्सवमा दर्शकको सहभागिता बढाउन केही खेल तथा मनोरञ्जन आवश्यक हुन्छ । तर महोत्सवमा उत्पादनको प्रदर्शनी, वस्तु तथा सेवाका जानकारी गरी व्यवसाय प्रवद्र्धनभन्दा खेल तथा मनोरञ्जनलाई बढी महत्व दिनु हुँदैन । नाच्ने, गाउने, विभिन्न खेल खेल्ने, मनोरञ्जन गर्ने, खाने कुरामा जोड दिई अवलोकनकर्तालाई आकर्षित गरेर पैसा कमाउने प्रवृत्तिले महोत्सवको उद्देश्य पूरा हुँदैन । उद्देश्यविपरितका मेला, महोत्सव सार्थक बन्न सक्दैन । कुनै पनि स्थानमा आयोजना हुने व्यापार महोत्सवले कम्तिमा त्यस जिल्लाका स्थानीय तहका उत्पादनलाई प्रवद्र्धन गर्न सक्नुपर्छ । महोत्सवलाई बढी आर्थिक कारोबार गर्नेतर्फ केन्द्रित नगरी विभिन्न वस्तु तथा सेवाको प्रवद्र्धनतर्फ केन्द्रित गर्नु आवश्यक छ ।