Home मुख्य समाचार आज मकवानपुरका तीन वटा गाउँपालिकाको गाउँसभा

आज मकवानपुरका तीन वटा गाउँपालिकाको गाउँसभा

गाउँसभामा सहभागीहरु । फाइल तस्वीर ।

हेटौंडाः आज शुक्रबार मकवानपुर जिल्लाको ३ वटा गाउँपालिकाको गाउँसभा हुँदैछ । मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको ११ औं गाउँसभा आज बस्ने भएको हो । पुस मसान्तभित्र गाउँसभा सम्पन्न गर्नुपर्ने भएकाले शुक्रबार ३ वटा गाउँपालिकाले सभा आयोजना गरेको हो । गाउँसभामा गाउँपालिकाको संशोधन गर्नुपर्ने एजेण्डा, निर्णयहरु र अर्धवार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले गाउँसभाबाट आर्थिक ऐन संशोधन गर्ने जानकारी दिनुभयो । शुक्रबार बिहान साढे ११ बजे सुरु हुने गाउँसभामा आर्थिक ऐन २०७९ संशोधन स्वीकृतिको लागि सभासमक्ष पेश गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो । यस्तै, विनियोजन ऐन, २०७९ संशोधन स्वीकृतिका लागि सभासमक्ष पेश गर्ने कार्यक्रम तय भएको छ । आर्थिक ऐन र विनियोजन ऐन गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले सभामा पेश गर्नुहुनेछ । त्यसैगरी, सामाजिक विकास समिति संयोजक अनन्त प्रकाश अर्यालले गाउँ शिक्षा ऐन २०७५ को दोस्रो संशोधन स्वीकृतिका लागि सभामा पेश गर्नुहुनेछ ।

गाउँपालिका अध्यक्षको तर्फबाट सुशासन तथा संस्थागत विकास समितिका संयोजक ठाकुरराम तितुङले महालेखा परीक्षकको अन्तिम प्रतिवेदन छलफलका लागि सभामा पेश गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, लेखा समितिका संयोजक गंगा सुनारले लेखा समितिको अन्तिम प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको छ । अन्तिममा सभामा उठेका विषयहरु र छलफल गर्नुपर्ने विषयहरु आएमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राक्सिराङ गाउँपालिकाका सूचना अधिकारी अञ्जन हटुवालले चालु आर्थिक वर्षमा स्वीकृत भएका र नाम फरक परेका योजनाहरु संशोधन गर्ने सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो । यस्तै, गाउँपालिकाको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन, मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो ।

सभामा संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने कार्यक्रम तय भएको छ । सामान्य कार्यपालिकाहरुले गरेको निर्णय र आकस्मिक कार्यका लागि अधिकार प्रायोजनसम्बन्धी प्रस्ताब पेश हुने उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ सम्म रहेको बेरुजु फछ्र्यौट नियमित गर्नेसम्बन्धी प्रस्तावसमेत पेश हुने उहाँले बताउनुभयो ।

कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले सभामा बजेट संशोधनको विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु पुँजीमा ९७ लाख रुपैयाँ संशोधन गर्ने निर्णय भएको छ । गाउँपालिकाको चालु बजेट १ करोड ४० लाख रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, गाउँसभामा करार कर्मचारीको म्याद थपको विषयमा छलफल हुने उहाँले बताउनुभयो । यस्तै, सभामा न्यायिक समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version