Home मुख्य समाचार ५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुहुँदै अध्यक्ष नेत्रप्रसाद खतिवडा ।

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित ५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एकैदिन ५ वटा विद्यालयका २ सय ५० भन्दा बढी विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो ।

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्रप्रसाद खतिवडाको नेतृत्वमा व्यवसायीको एक समूहले बुधबार ५ वटै विद्यालय पुगेर न्यानो कपडा वितरण गरेको हो । १ लाख १० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको संघले एक विपन्न परिवारलाई सिरक, डसना समेत हस्तान्तरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

बुधबार भीमफेदी गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालय, भीमफेदी–२ स्थित पोखरी आधारभूत विद्यालय, भीमफेदी–९ स्थित पदमज्योति आधारभूत विद्यालय र नमूना आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । यस्तै संघले आज बिहीबार हेटौंडा उपमहानगरपालिका–१ स्थित भैरव आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ ।

बुधबार न्यानो कपडा वितरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तेजराज अधिकारी, पूर्वअध्यक्ष समीर लाल डंगोल, सल्लाहकार रविन्द्र घिमिरे, महासचिव मधुसुदन अर्याल, सचिव सन्तोष घिमिरेको पनि सहभागिता रहेको थियो ।

Exit mobile version