हेटौंडाः काठमाडौंस्थित दशरथ रंगशालाको भलिबल कोर्टमा जारी सातौं राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसीपमा सहभागी मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले दोस्रो खेलमा हार व्यहोरेको छ । बुधबार टिपटप हेल्प नेपालसँगको खेलमा प्रतिष्ठान २५–१८ २५–१८ २५–१३ को सोझो सेटमा पराजित भएको हो । दर्शकको मन जित्न सफल प्रतिष्ठानको भलिबल टिमविरुद्ध टिपटप हेल्प नेपालको टिममा पाकिस्तानी भलिबल टिमका कप्तानसहित ३ खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो ।
यसअघि सोमबार आफ्नो पहिलो खेलमा प्रतिष्ठानले मधेश प्रदेशको भलिबल टिमलाई पराजित गरेको थियो । प्रतिष्ठानले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–२३ ले आफ्नो पक्षमा पार्दै जितको आधार तय गरेको थियो । तेस्रो सेट २७–२९ ले गुमाए पनि चौथो सेटमा २५–१७ को सहज नतीजा निकालेपछि प्रतिष्ठानले पहिलो खेल जित्दै सुखद् सुरुवात गरेको थियो । पहिलो खेलमा प्रतिष्ठान म्यान अफ द म्याच नवीन महत घोषित भएका थिए ।
आज बिहीबार प्रतिष्ठानले समूह चरणको आफ्नो अन्तिम खेल बुढानिलकण्ठ भलिबल एकेडेमीसँग खेल्नेछ । आजको खेल जित्यो भने प्रतिष्ठान दोस्रो चरणमा प्रवेश गर्नुका साथै नेपाल भलिबल संघले आयोजना गर्ने एनभीए लिगमा समेत खेल्ने पाउने नेपाल भलिबल संघको भलिबल इन्फरमेसन सिस्टम (भिआइएस) का सदस्य सन्तोष श्रेष्ठ जानकारी दिनुभयो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका सदस्य समेत रहनुभएका श्रेष्ठ मकवानपुर जिल्ला भलिबल संघको महासचिव समेत हुनुहुन्छ ।
