Home मुख्य समाचार सभामुखका लागि मनोनयन दर्ता आज, राप्रपाबाट पाठकले उम्मेदवारी दिने

सभामुखका लागि मनोनयन दर्ता आज, राप्रपाबाट पाठकले उम्मेदवारी दिने

हेटौंडाः बागमती प्रदेशसभाको सभामुखको निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ता हुने भएको छ । बागमती प्रदेशसभाका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार २ बजेसम्ममा मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गतेदेखि नै सुरुवात गर्ने निर्णय गरेपनि त्यसलाई संशोधन गरेर एक दिनपछि सारिएको सचिव खड्काले बताउनुभयो । सभामुख चयनका लागि भोलि शुक्रबार निर्वाचन हुने उहाँले बताउनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरु मध्यबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम प्रदेश सभा सचिवालयले आज बिहीबार बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ । यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन भोलि शुक्रबार बिहान ११ बजे हुने सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकको उम्मेदवारी रहनेछ । राप्रपाले बुधबार पार्टीका महामन्त्री समेत रहनु भएका पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । पाठक बागमती प्रदेश सभामा समानुपातिकबाट सदस्य बन्नु भएको हो । पाठकले २०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बागमती प्रदेश सभाको उपसभामुख चयनका लागि भने कुनै निर्णय भएको छैन । बिहीबार सर्वदलीय बैठक बोलाइएको र बैठकले उपसभामुखको निर्वाचनबारे निर्णय गर्ने सचिव खड्काले बताउनुभयो । सर्वदलीय बैठक बिहीबार ४ बजे बस्दैछ ।

Exit mobile version