हेटौंडाः केन्द्रमा नयाँ गठबन्धनसहितको नयाँ सरकार बनेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा केन्द्रमा सरकार बनेको छ । सरकार गठनमा समर्थन गरेका केही दल तत्काल सरकारमा सहभागी भएका छैनन् ।

केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेसँगै त्यसको प्रभाव प्रदेश सरकार गठनमा पनि देखिने भएको छ । प्रदेश सरकार गठनका लागि यसअघिको गठबन्धनको एक माहोल बनिसकेको भए पनि अहिले अर्को गठबन्धन बनेपछि त्यो देखिएको छैन । बागमती प्रदेशसभामा जेष्ठ सदस्यले बुधबार र बाँकी सदस्यहरुले बिहीबार सपथ लिने तयारीमा छन् । सपथ लिएसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । बागमती प्रदेशसभामा सबैभन्दा बढी नेपाली कांग्रेसको ३७ जना सांसद छन् । नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ जना र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् । प्रदेशमा पनि नयाँ गठबन्धनअनुसार सरकार बन्ने देखिन्छ ।

नयाँ गठबन्धनसहितको केन्द्रमा सरकार बन्दा प्रदेश र स्थानीय तहमा पनि प्रभाव पर्नसक्ने सम्भावना देखिएको छ । मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले नयाँ गठबन्धनको सरकार बनेपछि यसको प्रभाव स्वभाविकरुपमा प्रदेश सरकार गठनमा पर्ने बताउनुभयो । अहिले राजनीतिकरुपमा सरकार गठन, विगठन र सरकार बनोटमा प्रभाव परेको उहाँले बताउनुभयो ।

नयाँ गठबन्धनलाई सुरुमै मन्त्रिमण्डल गठनमा प्रभाव परेको उहाँले बताउनुभयो । नयाँ गठबन्धन भएकाले हिजोको काम गर्ने शैली र अबको काम गर्ने शैली केही फरक हुनसक्ने उहाँको भनाई छ । नयाँ नेतृत्वले गर्ने कामको शैलीले परिवर्तन आयो आएन भनेर थाहा पाउने उहाँले बताउनुभयो । संघ र प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्दैमा स्थानीय तहलाई खासै फरक नपर्ने उहाँको भनाई छ । सामान्य प्रभाव स्थानीय सरकारमा बजेट निकासाका कुरामा हुन सक्ने र त्यस्तो गर्न नहुने उहाँले बताउनुभयो ।

मकवानपुरका खेलकुदकर्मी तथा पत्रकार राजन दाहालले अहिलेको नयाँ गठबन्धन स्वभाविक भएको र नयाँ मन्त्रीहरुले कसरी काम गर्छन् भन्ने प्रमुख रहेको बताउनुभयो । अहिलेको सरकारमा नयाँ नेतृत्व र युवा पुस्ता समेटिएकाले कसरी काम गर्छ र योजना कस्तो ल्याउँछ भन्ने कुरा मुख्य हुने दाहालको भनाई छ । दाहालले भन्नुभयो– “प्रदेश सरकार गठनको हकमा हिजो एक किसिमको माहोल बनिसकेको अवस्था थियो, अहिले अर्काे भएको छ, जुन अपेक्षाभन्दा फरक देखियो । प्रदेशमा संघीयता चाहिँदैन र चाहिन्छ भन्ने दुई खाले विचार भएकाहरु सरकारमा गएका छन्, यसले केही फरक ल्याउँछ कि भन्ने लागेको छ ।”

“राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता चाहिँदैन भनेर प्रदेशसभा निर्वाचनसमेत बहिष्कार गरेको थियो, राप्रपाको पनि माग त्यही थियो”, पत्रकार दहालले भन्नुभयो– “सरकारको नेतृत्व गर्ने गर्ने प्रदेशको पक्षधर हुने भएकाले सरकारका गतिविधि फरक पर्न र विवाद पर्न सकिने जस्तो लागेको छ ।” उहाँले प्रदेश र केन्द्रमा नयाँ गठबन्धनको सरकार बने पनि स्थानीय सरकारमा भने खासै असर नपर्ने बताउनुभयो ।

शिक्षाकर्मीले प्रतिमा डंगोलले राजनीतिले कसलाई कहिले कतिखेर कहाँ पुर्याउँदोरहेछ भन्ने कुरा अहिलेको राजनीतिक घटनाक्रमले देखाएको बताउनुभयो । नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन जायज भएको उहाँको भनाई छ । बामपन्थी दल, वैचारिक र सैद्धान्तिकरुपले एउटै भएका दलबीच एकीकृत, समझदारी र गठबन्धन हुनु राम्रो भएको उहाँको धारणा छ । उहाँले भन्नुभयो “नेपाली कांग्रेस र माओवादी केन्द्रबीच यसअघिको गठबन्धन अप्राकृतिक थियो जस्तो लाग्छ, दुई दलको सैद्धान्तिक विचार र एजेण्डा नै फरक थियो, जुन सत्ताकै लागि गठबन्धन भएको जस्तो देखिएको थियो ।”

कांग्रेस र माओवादीबीचको गठबन्धन उत्साहजनक नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “सरकारमा नजाने भनिएका राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो समर्थन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँछ जस्तो लागेको थिएन, प्रतिपक्ष भएर बस्छ भन्ने थियो, ऊ पनि सरकारमा गयो । सरकारमा जानुभन्दा पहिला बोलेका कुरा र अहिलेको घटनाक्रमले तत्काल कसैमाथि पनि विश्वास गर्नसक्ने वातारण छैन ।” संसदीय हिसाबले प्रधानमन्त्री छान्ने व्यवस्था रहेसम्म सधैं यस्तै हुने उहाँले बताउनुभयो । आफूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति होस् भन्ने चाहेको उहाँले बताउनुभयो ।