हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभा संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा बामगती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

२ हजार १ सय ९९ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ३ करोड ५८ लाख ६१ हजार ६ सय रुपैयाँ छ । संस्थाको बचत १५ करोड १८ लाख ३३ हजार ३ सय ६७ रुपैयाँ छ । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ सदस्य पुरुषतर्फ विष्णु लामिछाने र महिलातर्फ जीव कुमारी दंगाललाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट मासिक बचतकर्ताको रुपमा मदु कुमार दंगाल, अधिकतम बचतकर्ताको रुपमा कमला दाहाल, ऋणमा अधिकतम ब्याज तिर्ने अर्जुन प्रसाद गौतम र नियमित ऋणको किस्ता भुक्तानी गर्ने किरण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै २०७८ को एसईईमा उत्कृष्ट अंक ल्याउने तमन्ना अर्याल, विकल्प रेग्मी र जेनिश बोगटीलाई सम्मान गरिएको छ ।

साधारण सभामा हेटौंडा–४ का वडा सदस्य जगन्नाथ पाण्डे, हेटौंडा उपमहानगरपालिका सहकारी इकाईका प्रमुख हिम प्रसाद पौडेल, नेपाल उद्योग परिसंघ, बागमती प्रदेशका निवर्तमान संस्थापक अध्यक्ष, ऋषिराम घिमिरे र राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।