आज आमाको मुख हेर्ने दिन, मध्यरातदेखि सामाजिक सञ्जालमा आमाप्रति सन्तानको सम्मानभाव प्रकट भइरहेको छ । आमाप्रतिको सम्मानमा सामाजिक सञ्जालमा देखाउनु आवश्यक छ र ? भन्ने प्रश्नहरु पनि प्रसस्त उब्जने गरेको छ । सन्तानले आमाप्रति सम्मानभाव प्रकट गरिरहेकै बेला साहित्यकार भावना सापकोटाले भने आफैं आमा हुँदाको अनुभूति कवितामार्फत प्रस्तुत गर्नुभएको छ । आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा तयार भावनाले सन्तानलाई हेरेर आफ्नो भावना तयार पार्नुभएको छ, ‘एउटा यस्तो कल्पना’ शीर्षकको कवितामा ।

एउटा यस्तो कल्पना

भावना सापकोटा

तिम्रो आगमनले मलाई म हुनुको
अहोभाग्य प्रदान गर्‍यो

तिमी नै आउँदैन थियौ भने धर्तीमा
म कसरी म हुन सक्थेँ ?
कसरी पुरा हुन सक्थेँ म तिमी बिना
अधुरो अपुरो बाँचिरहन्थेँ सायद जीवनभर
हाँसो शुन्य हुन्थ्यो ओठ
मरुभूमि समान हुन्थ्यो कोख
बाँझो धर्ती समान हुन्थ्यो जीवन
सपना÷कल्पना शून्य हुन्थ्यो मन

मेरो जीवन कै प्रिय पात्र तिमी
धड्किरहन्छौ हर धड्कनमा

तिमी र तिम्रै खातिर साँचिएका छन्
तमाम मनका सपनाहरू
तिम्रै खातिर धुमिल बनाउँदै छु
जिन्दगीको रफ्तारलाई
बाँधिदिएकी छु मनका इच्छालाई
तिमी खुसी देख्नकै लागि
परिवर्तन गरेकी छु आफ्ना रुटिनहरू
ताकी तिमी उन्मुक्त हाँस्दा
तिम्रो हाँसोमा हाँसो मिलाउन सकूँ
तिमी पीडामा बग्दा
मलम बन्न सकूँ तिम्रो घाउको
तिमी दुख्दा महशुस गर्न सकूँ तिम्रो दुखाई

तिम्रा हर पदचापलाई
डोर्‍याइदिन सकूँ समुन्नत गन्तव्यतर्फ
तिम्रा मनमा रोप्न सकूँ
सुविचार/सुभावनाका बीजहरू
जसलाई उमारेर आफ्नो मनभित्र
तिमी समुन्नत मानिस बन्न सक्नु
र, प्रदान गरिरहनु मलाई आमा हुनुको अहोभाग्य ।