हेटौंडाको बुद्धचोकमा स्थापना गरिएको हातधुने स्टेशनको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले हात धोएर उद्घाटन गर्नुहुँदै ।

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अगुवाईमा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन स्थापना गरिएको छ । हेटौंडाको बुद्धचोकमा तयार भएको हातधुने स्टेशन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले आज उद्घाटन गर्नुभयो । लायन्स तथा लियोले हेटौंडाको बसपार्क, हेटौंडा अस्पताल र मानसचोकमा हातहुने स्टेशन आजैबाट सञ्चालनमा ल्याएको छ ।
भुइँमै खुट्टाले थिचेर धारा खोल्न मिल्ने गरी तयार पारिएको हातधुने स्टेशन थप चार स्थानमा राखिने लायन्स इन्टरनेशन ३२५ बी २ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले जानकारी दिनुभएको छ । लायन्स तथा लियो क्लबको अग्रसरतामा लायन्स क्लबकै पदाधिकारीहरु रविन्द्र घिमिरे, सरोज पोखरेल र गोदावरी स्टील्स प्रालिले सहयोग गरेको बताइएको छ । हेटौंडा बजारको ८ स्थानमा हातधुने स्टेशन निर्माण गर्न करिब दुई लाख रुपैयाँ लागत लागेको नकर्मीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न बजारक्षेत्रमा हातधुने स्थान तयार पारिएको हो ।
हातधुने स्टेशनका लागि आवश्यक पानी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले निशूल्क उपलब्ध गराएको छ । लायन्स क्लबले अहिलेको महामारीलाई लक्षित गरेर हातधुने स्टेशन सञ्चालनमा ल्याएको भए पनि हातधुने स्टेशन नियमित रुपमा सञ्चालन गरिने जनाएको छ । लायन्स तथा लियो क्लबको अग्रसरतामा लकडाउनको समयमा पैदलयात्रुका लागि खाजा खुवाउने कार्यक्रम पनि प्रभावकारी भइरहेको छ । हेटौंडा–२, चौकीटोलमा खाजा बनाएर लायन्स तथा लियो क्लबका पदाधिकारीहरुले हेटौंडाको बस्तीपुर, पिप्ले र रातोमाटेमा पैदलयात्रुलाई खाजा वितरण गरिरहेको छ ।