डा. सुनिल थकाली प्रमुख हेटौंडा सामुदायिक आँखा अस्पताल

रोटरी क्लब अफ हेटौंडाको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा गत साता मकवानपुर, बारा र रौतहट जिल्लाका ५ स्थानमा भएको निःशुल्क आँखा शिविरमा १ हजार १ सय ४३ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराएकामध्ये २ सय १२ जनाको आँखामा मोतिबिन्दु पहिचान भएको थियो । आँखा परीक्षण गराएकामध्ये करिब २० प्रतिशतमा मोतिबिन्दुको समस्या पहिचान भएको छ । मोतिबिन्दु भएका व्यक्ति र उसको सहयोगीलाई समेत घरदेखि आँखा अस्पतालसम्म ल्याउने, खाने, बस्ने र उपचारपछि घर फर्कने सुविधा उपलब्ध गराउँदासमेत १ सय ६६ जनाले मात्रै शल्यक्रिया गराएका छन् । आँखासम्बन्धी यति जटिल समस्या र निःशुल्क उपचार सेवा समेत नलिइरहको सन्दर्भमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीसँग गर्नुभएको कुराकानीः

समाजः विभिन्न ५ स्थानमा गरिएको आँखा शिविरमा मोतिबिन्दुको समस्या हिजोको भन्दा बढ्दो वा घट्दो कस्तो अवस्था देख्नुभयो ?

थकालीः मोतिबिन्दुको समस्याको संख्या भन्दा पनि एक प्रकारको ग्रेडिङ हुन्छ । संख्याको आधारमा नै हेर्दा पहिलाको भन्दा अहिलेको संख्या एकदमै कम हो । मोतिबिन्दुको बिरामीको संख्या त खासै घटेको छैन, तर समस्याको आधारमा हेर्दा पहिलेको भन्दा अहिलेको मोतिबिन्दु धेरै गुणाले सामान्य हो । अहिले देखापरेको मोतिबिन्दु तत्काल उपचार गरिहाल्नुपर्ने खालको भने थिएन ।

समाजः यति धेरै जनामा समस्या हुँदा पनि उक्त मानिसहरु स्वास्थ्य संस्थासम्म चेकजाँच गर्न नआउनुको कारण के हो ?

थकालीः मैले देखेअनुसार धेरै बिरामीहरु स्वास्थ्य संस्थामा चेकजाँचका लागि नआउनुको प्रमुख कारण भनेको आर्थिक अभाव हो । लगभग ८० प्रतिशत बिरामीहरुचाहिँ आर्थिक अभावको कारण उपचारका लागि नआएको देखिन्छ । बाँकी २० प्रतिशत मानिसहरुचाहिँ अस्पतालको पहुँच नभएको कारण उपचार नगरेको देखिन्छ । आँखा अस्पताल वा आँखा उपचार केन्द्र भएपनि गाउँबाट टाढा परेको हुनाले उपचार हुन नसकेको जस्तो देखिन्छ ।

समाजः सामान्यतया मोतिबिन्दुको उपचार गर्न कति खर्च लाग्छ ?

थकालीः हामीसँग अहिले दुई किसिमको उपचार विधि रहेका छन् । एउटा मेसिनमार्फत् गर्ने टेको विधिबाट उपचार गर्दा १० हजारदेखि १२ हजार रुपैयाँसम्म पर्न जान्छ । अर्काे म्यानुअल विधिमार्फत् उपचार गर्दा करिब ८ हजार रुपैयाँ पर्छ ।

समाजः रोटरी क्लबले मोतिबिन्दुका बिरामीहरुको उपचारका लागि आउने–जाने भाडा, खाने, बस्ने सुविधालगायत सम्पूर्ण सुविधा उपलब्ध गराइदिँदा पनि कम्तीमा पच्चीस प्रतिशत बिरामी उपचारका लागि नआउनुको कारण के हो ?

थकालीः अधिकतम मोतिबिन्दुको समस्या देखापरेका बिरामीहरुको चाहिँ बिरामी कुरुवा नभएर उनीहरु उपचारका लागि आउन सकेनन् । कतिपय बिरामीको घरबाट निस्कने वातावरण नभएर आएनन् । मेरो अनुमानमा केही बिरामीहरुचाहिँ नयाँ ठाउँमा आउन हिचकिचाउने भएर पनि नआएको हुनसक्ने देखियो ।

समाजः कुन निकायले यस्ता समस्याहरुको समाधानमा सहजीकरण गरियो भने धेरै मानिसले लाभ लिन सकिन्छ ?

थकालीः अहिलेको डब्लुएचओले इन्टरगे्रटिड पिपुल आई सेन्टर (इपेक) लागू गरेको छ । यसअन्तर्गत् जनरल हस्पिटल र आँखा उपचार केन्द्र सँगसँगै सहकार्य गर्दछ । यसलाई सरकारले पनि लागू गर्न खोजिरहेको छ । यदि इपेक देशको ७७ वटै जिल्लामा लागू भयो भने केही हदसम्म यस्ता समस्याको न्यूनीकरण गर्न सकिन्छ र यसबाट धेरै मानिसले लाभ पनि लिन सक्छन् जस्तो लाग्छ ।