आमा र सन्तानबीचको सम्बन्ध व्याख्या गरेर पूर्ण हुनै सक्दैन । नेपाली समाजमा आमाको मुख हेर्ने दिन विशेष अवसरको रुपमा रहने गरेको छ । जीवित रहनुभएका आमा होस् या दिवंगत आमालाई उत्तिकै स्नेहका साथ सन्तानले सम्झने गर्छन् । आमाकै सम्मान र स्नेहमा रामबहादुर थापाले रचना गर्नुभएको कविताः
आमा

आमा
जुन शब्दोच्चारणले मात्र
व्यक्ति धन्य हुन्छ,
देवत्व ग्रहण गर्छ,
महान् हुने मार्गमा अघि बढ्छ,
सधैं काममा सफल हुन्छ ,
त्यो पवित्र शब्द हो, आमा ।
नौं महिना लामो प्रसव वेदनामा छट्पट्टिएर
सीमातित कष्ट व्यहोरेर
अनेकौं दुःखहण्डर खाई
भविष्यको सुन्दर अनि स्वपनिल संसारमा रमेर
पृथ्वीमा सन्तान अवतरण गराउने ईश्वर हुन्, आमा ।
सधैं फोहरी भइन् मात्र सुकिलो राखिन्
आफू भोको बसिन् कहिल्यै भोको राखिनन्
दुखैदुख झेलिन्, सुख मात्र दिइन्
आफू सधैं रोइन्, हँसाई मात्र रहिन्
थोत्रो जीर्ण शरीर बनाइन्, कष्ट दिँदै दिइनन्
चिन्ता, रोग र शोकमा डुबिन् सन्तान निरोगी बनाइन्
ती महान् अजेय शक्ति हुन्, आमा ।
ईश्वरसँग लडेर पनि दीर्घायू बनाइन्
आफू अशिक्षित भइन् तर लायक बनाइन्
आफूलाई केही सोचिनन् उसकै लागि मात्र सोचिन्
अपहेलना सहिन् तर कुभलो चिताइनन्
घरबाट निकालिइन् र पनि चिन्ता उसकै गरिन्
वृद्धाश्रम पुगिन् उसैलाई आशीर्वाद दिइन्
काल कुर्दै छिन् अझै नाम उसैको जप्छिन्
ती महान् नारी हुन्, आमा ।