अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै सचिव विनोद भट्टराई ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव विनोद भट्टराईले कुनै पनि मुद्दाको विषयमा अनुसन्धान गरेर अभियोजन गर्दा व्यक्तिको जिम्मेवारी र भूमिकाअनुसार फरक–फरक अभियोजन गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै सचिव भट्टराईले भन्नुभयो, ‘कार्यालयका प्राविधिक प्रमुखले तयार पारेको प्रतिवेदनलाई प्रशासनिक कर्मचारीले सदर गर्दा कमिकमजोरी देखियो भने प्राविधिक प्रतिवेदन बनाउने प्राविधिक कर्मचारी र सदर गर्ने प्रशासनिक कर्मचारी दुबै उत्तिकै दोषी ठहर हुने स्थिति न्यायोचित हुन्न ।’

प्रदेश तथा जिल्लास्तरीय कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागितामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै सचिव भट्टराईले भ्रष्टाचारसम्बन्धी अध्ययनले नेपाललाई भ्रष्ट मुलुकको रुपमा सूचिकृत गरेको उल्लेख गर्नुहुँदै भ्रष्टाचार निवारण गर्न सर्वपक्षीय प्रयत्न जरुरी हुने औँल्याउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र मात्रै लेख्दा नै भ्रष्ट भनेर सञ्चार माध्यममा प्रचार हुने स्थिति दुखद् भएको बताउनुभयो ।

अन्तरक्रियामा सहभागीहरु ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख नरहरि घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने कार्यको प्रक्रियाका बारेमा जानकारी गराउनुहुँदै राजनीतिक प्रणालीमा सुधार नभई अन्य उपप्रणालीमा सुधार नहुने बताउनुभयो । सुशासनको अनुभूति गराउन सबै जिम्मेवार हुनुपर्नेमा उहाँको सुझाव थियो । हरेक वर्ष डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । अन्तरक्रियामा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरका अध्यक्ष केदारप्रसाद चौलागाईको पनि उपस्थिति रहेको थियो ।