हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीलाई अल्टिमेटमपत्र हस्तान्तरण गर्नुहुँदै उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल ।

हेटौंडाः औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ७ दिने अल्टिमेटमपत्र बुझाउँदै भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रुस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उद्योगीले चेतावनी दिएका हुन् ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेलले शुक्रबार हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीलाई अल्टिमेटप पत्र हस्तान्तरण गर्नुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा २०७५ सालदेखि लागु हुने गरी ७ सय प्रतिशसम्म जमिनको भाडा वृद्धि गर्ने निर्णय नियमसंगत नभएको संघको दावी छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अल्टिमेटम पत्र बुझाउन व्यानरसहित कार्यालयतर्फ जाँदै गरेका उद्यमीको समूह ।

उद्योगीको विमतिपछि २०७९ साल साउन ३ गते १५ दिनको समयसीमा दिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत नबुझाएको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीलाई २०७५ सालदेखिकै बढेको भाडा भुक्तानी गर्न ताकेता गरेको भन्दै उद्योगीले विरोध जनाएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ४५ वटा उद्योग दर्ता रहेको र १ सय १४ वटा उद्योग सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख भोजराज विनाडीले जानकारी दिनुभयो । नयाँ भाडादर लागू गरिएपछि केही उद्योगले भाडा बुझाए पनि अधिकांशले भाडा नबुझाएको उहाँले बताउनुभयो । हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक प्रतिरोपनी ८ हजार ३ सय ३१ रुपैयाँ ७५ पैसा भाडा दरलाई वृद्धि गरी १६ हजार २ सय रुपैयाँ कायम गरिएको छ । अल्टिमेटमपत्र बुझाउन उद्योगी व्यवसायीको समूह उद्योग संघ मकवानपुरको कार्यालय परिसरबाट व्यानरसहित हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय पुगेको थियो । उद्योगीले विरोधस्वरुप हातमा कालोपट्टी पनि बाँधेका थिए ।