देश विकासका लागि त्यहाँका बालबालिकाको सबै पक्षको विकास अपरिहार्य हुन्छ । बालबालिकाको चौतर्फी विकास भएन भने देशको भावी पुस्ता प्रभावकारी बन्न सक्दैन । बालबालिकाको क्षेत्र यस्तो क्षेत्र हो, जुन क्षेत्रको अधिकार संरक्षण र सहभागिताबिना विकास प्रक्रिया अघि बढ्न सक्दैन । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने गरी मुख्य चार अधिकार सुनिश्चित गरेको छ । बाल अधिकारका चारवटै क्षेत्र उत्तिकै महत्वपूर्ण भए पनि नेपालमा बालसंरक्षणको क्षेत्र नै निकै चुनौतीपूर्ण छ । बालबालिकाको हक हित रक्षाको लागि बाल संरक्षण र सहभागिता बढी महत्वपूर्ण हुन्छन् । अझ बालसंरक्षणको अभावमा बालबालिकाको अन्य क्षेत्रको विकास सहज हुँदैन । बालसंरक्षणको अधिकार सुनिश्चित भए बालबालिकाले अन्य अधिकार सहजै प्राप्त गर्न सक्छन् ।

बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकामा पनि बालसंरक्षणको अवस्था चुनौतीपूर्ण देखिएको छ । उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नै बालसंरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताउनुभएको छ । बालअधिकार, बालसंरक्षण विषयक प्रदेशस्तरीय छलफल कार्यक्रममा मेयर लामाले बालबालिकाको क्षेत्रमा काम गर्न बलियो नीति नभएको भन्दै बालसंरक्षणको अधिकार प्रत्याभूत गर्नु चुनौती रहेको बताउनुभएको हो । संरक्षण भनेको सुरक्षा गर्नु वा जोगाउनु हो । बालबालिका शारीरिक तथा मानसिकरुपमा परिपक्व नहुने कारणले उनीहरुलाई विशेष संरक्षण आवश्यक पर्दछ ।

विभिन्न किसिमका भेदभाव, दुव्र्यवहार, हेला, यातना, उत्पीडन, शोषण आदिबाट संरक्षण पाउनु बालबालिकाको अधिकार हो । लिङ्ग, जाति, धर्म, वर्ग, वर्ण, उमेर, पेशा, शिक्षा आदिको आधारमा बालबालिकामा भेदभाव हुनुहुँदैन । उनीहरुलाई दुव्र्यवहार, उत्पीडन, यातना, अपमान, गाली, कुटपिट, हेलाबाट संरक्षण प्रदान गर्नुपर्छ । यस्तै, श्रमशोषण, यौनशोषणबाट पनि संरक्षण आवश्यक छ । बालबालिकालाई बेचविखन, अपहरण, जोखिमपूर्ण काम, युद्ध, लडाईं तथा झै–झगडाबाट जोगाउनुपर्छ । लागूपदार्थ तथा नशालु पदार्थबाट बालबालिकालाई टाढै राखेर कुलत र कुसंगतबाट संरक्षण प्रदान गर्नुपर्छ । कमैया, बँधुवा मजदुर, बादी, देउकी, झुमाजस्ता सामाजिक कुरितिबाट पनि उनीहरुलाई संरक्षण गर्नुपर्छ । अनाथ, टुहुरा, असहाय, सडक तथा परित्यक्त बालबालिकाका लागि विशेष संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । यसैगरी बालबालिकालाई राजनैतिक गतिविधिमा प्रयोग हुनबाट पनि संरक्षण गर्नु आवश्यक छ ।

अहिले पनि हाम्रा बालबालिका धेरै क्षेत्रमा असुरक्षित छन्, अर्थात् बालबालिकाको उचित संरक्षण हुन सकेको छैन । घरपरिवारदेखि विद्यालय हुँदै हरेक क्षेत्रमा बालबालिकाको संवेदनशीलतालाई बुझेर उनीहरुको संरक्षणमा ध्यान दिनेभन्दा पनि अन्य उमेर समूहबाट उनीहरुमाथि निर्देशन लाद्ने काम भइरहेको छ । बालबालिकाको उचित संरक्षणका लागि राज्यका सबै निकाय गम्भीर हुनु आवश्यक छ । आफ्ना पालिकालाई बालमैत्री घोषणा गर्नेक्रममा बालसंरक्षणसँग सम्बन्धित सूचकहरुमा अझ बढी ध्यान दिनु आवश्यक छ । गरिबी र अभावका कारण नेपालमा अभिभावकले नै आफ्ना छोराछोरीको उचित संरक्षण प्रदान गर्न सकेका छैनन् । बालबालिकाको संरक्षण नहुँदासम्म उनीहरु दुःख, पीडा र यातनाबाट मुक्त हुन सक्दैनन् । सरकारले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत अधिकार सुनिश्चित गरी बालसंरक्षणको उचित वातावरण बनाउनुपर्छ ।