हेटौंडाः स्थानीय प्रशासनसँगको सहमति विपरित हेटौंडामा व्यवसायीले बढी मूल्यमा मासु विक्री गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्न सरकारले लकडाउन सुरु गर्दा माछामासु व्यवसाय बन्द थियो । लकडाउनमा पसल नै बन्द हुँदा किसान मर्कामा परेको भन्दै माछामासु खोल्न जिल्ला प्रशासन कार्यालयले सहमति दिँदा ब्रोइलर कुखुराको मासुको उपभोक्ता मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको थियो ।
कुखुरा व्यवसायी संघ र माछामासु व्यवसायीकै प्रस्तावमा कायम गरिएको मूल्य विपरित अहिले व्यवसायीले तीन सय रुपैयाँमा मासु विक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । हेटौंडा बजार आसपासका क्षेत्रमा कुखुराको मासु महंगोमा विक्री भइरहेको भन्दै उपभोक्ताले गुनासो गरका छन् । हेटौंडा–६, पुतलीबजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी तीनसय रुपैयाँमा बेचिरहेको स्थानीय लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । आज आमाको मुख हेर्ने पर्वका दिन व्यवसायीले बढी मूल्य लिइरहेको भन्दै श्रेष्ठले गुनासो गर्नुभएको छ । यता हेटौंडा–११, थानाभार्याङका माधव गौतमले प्रहरीले नै प्रतिकेजी तीन सय रुपैयाँमा खरिद गर्न बाध्य भएको जानकारी दिनुभयो । हेटौंडाका रुपक श्रेष्ठले पनि प्रतिकेजी तीन सय रुपैयाँमा मासु खरिद गर्न बाध्य भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने सहमति भन्दा बढी मूल्यमा कारोबार भए कारवाही गरिने बताइरहनु भएको छ । हेटौंडाका माछामासु व्यवसायी संघहरुले भने किसानसँग यसअघिको सहमतिअनुसार जिउँदो कुखुरा नपाए पनि मासुको उपभोक्ता मूल्यमा वृद्धि नगर्ने बताएका थिए ।