बिहीबार विश्वभर एड्स दिवस मनाइएको छ । प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर एड्स दिवस मनाइन्छ । यस वर्ष पनि ३५ औं विश्व एड्स दिवस नेपालमा पनि मनाइएको छ । एचआइभी/एड्सको रोकथाम, हेरचाह र उपचार सेवाका सचेतना वृद्धि गर्नका लागि यो दिवस मनाउने गरिन्छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालभर विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको छ । एड्स दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा विभिन्न कार्यक्रम भएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौंडा उपमहानगरपालिका एवम् अन्य साझेदार र सरोकारवाला संस्थाहरुको संयुक्त आयोजनामा प्रभातफेरीसहित एड्स दिवसमा कार्यक्रम गरिएको थियो ।

नेपालमा सर्वप्रथम सन् १९८८ मा एचआईभी संक्रमित व्यक्ति फेला परेका थिए । एसियाली मुलुकहरुमा थाइल्यान्डमा बढी एड्स भएका नागरिक थिए भने सन् २००० पछि भारतमा सबैभन्दा बढी अर्थात् विश्वको ४० प्रतिशतभन्दा बढी एड्स रोगीहरु पाइएको त्यहाँको एक सर्वेक्षणले देखाएको छ । यो डरलाग्दो संख्या भारतको लागिमात्र नभएर खुला सिमाना भएको छिमेकीको कारण नेपालका लागि पनि चिन्ताको विषय हो । रोजगारीका लागि भारत जाने हजारौं नेपालीहरु घर फर्किंदा एचआइभीको संक्रमण लिएर आउने सम्भावना ज्यादै छ । असुरक्षित यौनसम्पर्क, एचआइभी संक्रमित व्यक्तिलाई लगाएको सुई लगाउँदा र रगत लिँदा परीक्षण गरिएन भने एड्सको जोखिम हुने गर्दछ । एचआइभी/एड्स संक्रमण एकबाट अर्को व्यक्तिमा सर्ने मुख्य माध्यममात्र हो, असुरक्षित यौन सम्पर्क । यो रोगको कारण होइन । यसअर्थमा एड्स दिवस मनाइँदै गर्दा यो संक्रमण हुने माध्यमका साथै यसको कारक तत्वका बारेमा पनि चर्चा र बहस हुनु आवश्यक छ ।

विश्वका गरिब तथा कम विकसित मुलुकहरुमा एचआइभी÷एड्सको संक्रमण दर बढिरहेको विश्व स्वास्थ्यको संगठनको निष्कर्ष छ । नेपाल पनि गरिब मुलुकहरुकै सूचीमा रहेको छ । रोजगारीका लागि नेपाली युवा विभिन्न देशमा पुगेका छन् । यौन सम्बन्धका लागि संवेदनशील मानिने युवा अवस्थामा विदेशिएका नेपाली असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमित भएर आउने सम्भावनालाई ध्यान दिनु पर्छ । आर्थिक अभावका कारण नेपाल भित्रै वा बाहिर असुरक्षित यौन पेसा अपनाउने युवा/युवतीको संख्या पनि उल्लेखनीय छ । आर्थिक विपन्नता, शिक्षाको कमी र चेतनाको अभावका कारण आम नेपालीले असुरक्षित यौन सम्पर्क गर्ने गर्दछन् । यसले नेपाल र नेपाली पनि एचआइभी/एड्सको उच्च जोखिममा रहेको पाइन्छ ।

देशमा रोजगारीको पर्याप्त अवसर जुट्ने र हरेक घरपरिवार अभावमुक्त, गरिबीको रेखामाथि हुने हो भने एचआइभी/एड्स संक्रमण न्यूनीकरण हुनेछ । यसको लागि आम नागरिकका साथै शीर्ष नेतृत्व, नीति निर्माता, सभासद तथा मन्त्रीहरुलाई पनि एचआइभी/एड्सबारे सचेतना प्रदान गर्नु आवश्यक छ । एचआइभी/एड्सलाई ख्याल–ख्याल मान्दा यसले महामारीको रुप लिनसक्नेतर्फ आमनागरिक र राज्यका सरोकारवाला निकाय सतर्क बन्नुपर्छ । एड्सबाट बच्ने प्रमुख उपाय यौन अनुशासन भएकाले असुरक्षित यौनसम्पर्कबाट सबै टाढा रहन सक्नुपर्छ । मानवजीवनको जैविक आवश्यकता मानिने यौनलाई नियन्त्रण गर्दै एचआइभी संक्रमण हुनसक्ने माध्यमबार सबै नेपालीले उच्च सतर्कता अपनाउन सकेमा वर्षेनि दिवस मनाउनुको सार्थकता देखिन्छ ।