हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले ३५ औं विश्व एड्स दिवसको अवसरमा आज बिहीबार जनचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । “एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने मुल नाराका साथ प्रतिष्ठानले जनचेतना अभिबृद्धि कार्यक्रम गरेको हो । प्रतिष्ठानले जनचेतनाको लागि र्याली, फल्यास मुभ र एड्स भएकाहरुको अनुभव साटासाट गरेको हो ।
जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले एड्स नियन्त्रणमा रहेपनि नसकिएकाले जनचेतनामुलक कार्यक्रमले अझैं चेतना फैलाउन मदत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एड्स बारे आम जन समुदायले सहि जानकारी पाउनुपर्नेमा जोड समेत दिनुभयो । हेटौंडा १० टिसिएनमा रहेको प्रतिष्ठानको कार्यालय अगाडिबाट सुरु भएको र्याली बसपार्क, जिल्ला प्रहरी कार्यालय परिसर, राप्ती रोड, बुद्ध चोक, सिमाचोक हुँदै सितलमहल चोकमा पुगेर फल्यास मुभ गरिएको थियो ।
र्यालीमा सहभागी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले जनचेतनामूलक प्ले कार्डको प्रर्दशन गर्नुका साथै एड्सबाट बच्न र बचाउन आग्रह गरेका थिए । उनीहरुले कण्डमको सही प्रयोग गर्न पनि आग्रह गरेका थिए । हेटौंडा ४ स्थित हुप्र चौरमा पुगेर कोणसभामा परिणत भएको र्याली एड्स संक्रमितले अनुभव साटा साट गरे पश्चात् समापन भएको हो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राध्यापक, बिद्यार्थी, कर्मचारी लगायतकाको सक्रिय सहभागिता रहेको प्रतिष्ठानका सुबोध आचार्यले जानकारी दिनुभयो ।











