२० वर्ष उमेर पुगेपछि विवाह गर्नुपर्छ भनेर सचेतना प्रदान गर्न थालेको दशकौं भइसकेको छ । कानुनीरुपमा विवाह गर्नयोग्य उमेरलाई वृद्धि गरेर २० वर्ष पुर्याइएको पनि एक दशक हुन लागिसकेको छ । तर, बालविवाह अन्त्य हुन सकेको छैन । सामाजिक समस्या र कानुनीरुपमा दण्डनीय रहेको बालविवाह भइरहनुले समाज सचेत हुन नसकेको र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको पुष्टि गर्दछ । बालविवाह हुनु एउटा समस्या हो भने त्यसका कारण किशोरावस्थामा नै आमा बन्नु अर्को समस्या बनिरहेको छ । बालविवाह भइरहेकै कारण किशोरावस्थामा नै आमा बनेर सन्तानलाई जन्म दिने क्रम पनि उत्तिकै देखिएको छ । २० वर्षभन्दा कम उमेरमै विवाह गरेर सन्तान जन्माउँदा शिशु र आमा दुबैलाई जोखिम हुने भए पनि किशोरी आमाहरुको संख्या कम हुन नसक्नुलाई विडम्बना मान्नुपर्ने भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा मकवानपुरमा २० वर्षभन्दा कम उमेरका ८८ जना किशोरी आमा बनेका छन् । यो संख्या हेटौंडा अस्पतालमा आएर प्रसुति सेवा लिएकाहरुको हो । जिल्लाका अन्य अस्पताल वा स्वास्थ्य केन्द्रमा प्रसुति गराउने तथा घरमै प्रसुति हुनेको संख्या यसमा समावेश छैन । चालु आर्थिक वर्षको साउनमा २० जना, भदौमा ३० जना, अजोसमा १८ जना र कात्तिकमा २० जना किशोरीले हेटौंडा अस्पतालमा सन्तान जन्माएका हुन् । यो तथ्यांकले सरदर मासिक २२ जना किशोरी आमा बनिरहेका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा अस्पतालमा आएर प्रसुति सेवा लिएका ३ हजार ३ सय ५९ गर्भवतीमध्ये २ सय ३५ किशोरी रहेका थिए । यस तथ्यांकले मासिक औसत २० जना किशोरीले हेटौंडा अस्पतालमा प्रसुति गराएको देखाउँछ । हेटौंडा अस्पतालमा प्रसुति गराउनेमध्ये करिब ७ प्रतिशत २० वर्ष मुनिका रहेको तथ्यांकले पुष्टि गरेको छ । यीमध्ये कतिपयले २० वर्षभन्दा कम उमेरमै दोस्रो सन्तान जन्माएको समेत पाइएको छ ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्नुलाई बालविवाह भनिन्छ । नेपालमा बालविवाहलाई गैरकानुनी मानिएको छ । बालविवाह गर्ने र गराउनेलाई कानुनले दण्डको व्यवस्था गरेको भए पनि उक्त कानुन प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । यसले बालविवाहसँगै आमा बन्ने किशोरीहरुको संख्या पनि बढ्दै गएको छ । मकवानपुर जिल्लाका अधिकांश पालिकाहरु बालविवाहमुक्त घोषणा भएर धमाधम बालमैत्री पालिका घोषणा भइरहेका छन् । हेटौंडा उपमहानगरपालिकालाई पनि आगामी एक वर्षभित्र बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । तर, मकवानपुरमै दिनहुँ किशोरी आमा बन्नुले बालमैत्री पालिका घोषणा र त्यसका सूचकहरुलाई नै गिज्याइरहेको छ । यसले बालमैत्री घोषणाको प्रभावकारिता र सार्थकतामा समेत प्रश्नचिह्न खडा गरेको छ ।

लेखपढ गर्ने, खेल्ने, कुद्ने, रमाइलो गर्ने उमेरमै विवाह गरेर सन्तान जन्माउनु कुनै पनि दृष्टिकोणबाट सकारात्मक मान्न सकिँदैन । पछिल्लो समय सानै उमेरमा विवाह गर्न केटाकेटी नै बढी अग्रसर देखिएका छन् । अभिभावकहरु बालविवाहप्रति सचेत र सजग बन्न थालेको भए पनि बालबालिका नै आफूखुशी विवाह गर्न अग्रसर हुँदा आमा बन्ने किशोरीको संख्या पनि बढिरहेको छ । किशोरावस्थामा देखिने विपरित लिङ्गीप्रतिको आकर्षण नै अधिकांश बालविवाहको कारण बन्न गरेको छ । सानै उमेरमा विवाह गर्ने र सन्तान जन्माउनेले पछि पछुतो मान्नेमात्र नभई यसले जटिल शारीरिक र सामाजिक समस्या भोग्नुपर्ने हुन्छ । पर्याप्त शारीरिक र मानसिक विकास नहुँदै विवाह गर्ने र आमा बन्ने क्रमको अन्त्य आवश्यक छ ।