यस वर्ष अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपालमा कतै मनाइएन । हरेक वर्ष नोभेम्बर २० का दिन मनाइने अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा नेपालमा कुनै औपचारिक कार्यक्रम गरिएनन् । नोभेम्बर २० का अर्थात् गत मंसिर ४ गते आइतबार देशभर आम निर्वाचनको मतदान गर्ने दिन भएकाले बालअधिकार दिवसका कुनै औपचारिक कार्यक्रम नभएका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश नै होमिएका कारण बालअधिकार दिवस मनाउने कुनै कार्यक्रम बन्न नसकेको हो । यो दिवसलाई विशेषगरी विद्यालयहरुले विविध कार्यक्रम गरेर मनाउने गरेको हुँदा निर्वाचनका कारण विद्यालय बन्द भएका कारण यो दिवस मनाइएन । अर्कोतिर बालबालिकासँग सम्बन्धित सरकार तथा गैरसरकारी संघसंस्था पनि चुनावमा केन्द्रित भएका कारण दिवस मनाउनेतिर ध्यान पुग्न नसकेको हुनसक्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले बालअधिकारसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष विश्वभर नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइन्छ । पहिलो विश्वयुद्धका कारण अनाथ र घरबारविहीन बनेका बालबालिका सडकमा वेवारिसे अवस्थामा देखिएपछि विश्वभर बालअधिकारको चर्चा सुरु भएको मानिन्छ । निकै लामो संघर्षपछि संयुक्त राष्ट्रसंघबाट १९८९ नोभेम्बर २० मा बालअधिकारसम्बन्धी महासन्धि पारित भएको थियो । १९९० बाट लागू भएको महासन्धिलाई नेपालले पनि सोही वर्ष सेप्टेम्बर १४ मा हस्ताक्षर गरेको थियो । नेपाल उक्त महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा हाल नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।

बालअधिकार दिवस बनाउनु भनेको बालबालिकाप्रति सम्मान व्यक्त गर्दै उनीहरुको अधिकारबारे सचेत बनाउनु हो । विकसित देशको तुलनामा विकासशील देशका बालबालिकाले आफ्ना सबै अधिकार प्राप्त गर्न सकेका हुँदैनन् । कुनै पनि देशको विकासमा त्यहाँका बालबालिकाको सर्वाङ्गीण विकास अपरिहार्य हुन्छ । बालबालिकाको चौतर्फी विकास भएन भने देशको भावी पुस्ता प्रभावकारी बन्न सक्दैन । बालबालिकालाई उनहरुको अधिकार वयस्कले प्रदान गर्नुपर्छ । बालअधिकारको प्रत्याभूति हुन सकेन भने उनीहरुको संरक्षण, विकास र सहभागिता सम्भव हुँदैन । बालबालिकाको यी अधिकारबिना विकास प्रक्रिया अघि बढ्न सक्दैन । यही भएर संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने गरी मुख्य चार अधिकार सुनिश्चित गरेको छ । बाल अधिकारका चारवटै क्षेत्र उत्तिकै महत्वपूर्ण भए पनि नेपालमा बाल संरक्षणको क्षेत्र बढी चुनौतीपूर्ण बनिरहेको छ ।

कुनै पनि दिवस मनाउने प्रचलनले त्यसको महत्वबोध गराउँछ । यस्ता दिवसले सम्बन्धित क्षेत्रको बारेमा चर्चा गर्ने र चासो बढाउन मद्दत गर्दछ । बालबालिकाको अधिकारका विषयमा चर्चा गर्न र त्यसको प्रत्याभूतिका लागि सम्बद्ध पक्षलाई सचेत बनाउन बालअधिकार दिवसले सहयोग गर्दछ । घर परिवारदेखि विद्यालय हुँदै राज्यका नीति निर्माण तहसम्म बालबालिकाको सहभागिता र अधिकार रक्षाका लागि यो दिवसले सरोकारवालालाई जागरुक बनाउन मद्दत पुग्ने भए पनि यस वर्ष यसबारेमा चर्चा हुन नसक्दा बालबालिका र यस क्षेत्रमा चासो राख्नेहरुका लागि खल्लो महसुस भएको छ । बालअधिकार दिवसकै दिन मतदान गर्ने दिन परेकाले यसवर्ष सबैले यो दिवसलाई बिर्सिएको भए पनि आगामी वर्षहरुमा यस्तो हुन नदिन सम्बद्ध पक्ष गम्भीर बन्नु आवश्यक छ ।