हेटौंडाः हेटौंडा बजारको थोक तरकारी बजार स्थानीयले बन्द गराइदिएका छन् । व्यवसायी र उपभोक्ताको भीडभाड भएको, भारतीय तरकारी तथा फलफुल आयात नरोकिएको भन्दै १० नम्बर वडा अध्यक्ष कितापसिं लामा, वडा सदस्य धर्म बस्नेतसहित स्थानीयले तरकारी बजार प्रवेश गर्ने बाटो रोकिदिएको छ । आज बिहानै एक्कासी बजार बन्द गराएको भन्दै व्यवसायीले आफूहरु समस्यामा परेको बताएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउनको घोषणा गरेका बेला तरकारी बजारमा निक्कै भीडभाड भएको भन्ने स्थानीयको गुनासो आएपछि बजार बन्द गरिएको वडाअध्यक्ष लामाले बताउनुभयो । यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने भारतबाट हुने आयातलाई रोकेर जिल्लाभित्रका उत्पादनको कारोबारलाई व्यवस्थित गर्न भनिएको बताउनुभयो । स्थानीय र वडाले बन्दै गरेको भए आफूले त्यसलाई बुझेर व्यवस्थित गर्न भन्ने मेयर महतले बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भीडभाड भयो भनेर स्थानीयले बन्द गरेको भए स्थानीय प्रशासनले पनि त्यसलाई समर्थन गर्ने बताउनुभयो । अहिले सरकारले भीडभाड हुन नदिने भनेको र व्यवसायी र उपभोक्ताले भीडभाड गरे बन्द गर्नु स्वभाविक भएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले भने बजार नै बन्द गर्दा व्यवसायी भन्दा पनि किसान र उपभोक्ता बढी मारमा पर्ने बताउनुभयो । तराई र भारतबाट हुने आयातलाई नियन्त्रण गरेर स्थानीय कृषि उत्पादनको सहज विक्री वितरण व्यवस्थापन गर्नुपर्ने अध्यक्ष कटुवालको भनाइ छ ।
थोक तरकारी बजारका व्यवसायी भने स्थानीय प्रशासनले पटक–पटक समय परिवर्तन गरिरहने, स्थानीयले पनि अवरोध गरिरहने अवस्था रहिरहे व्यवसाय बन्दै गरेर बस्ने बताएका छन् । व्यवसायी गोविन्द दाहालले रोगको संक्रमणको डर रहन्छ र व्यवसाय बन्द गर्नुपर्ने भए व्यवसायीले पनि जबर्जस्ती व्यवसाय नगर्ने बताउनुभयो । वडा र स्थानीयवासीकै अवरोध हुने अवस्था आएपछि आफूहरुले केही गर्न नसक्ने बताउनुभयो । स्थानीय हरि सापकोटाले भारत र तराईबाट रातारात तरकारी तथा फलफुल आउने, बिहानैदेखि सयौंको भीड लाग्ने भएपछि वडा र उपमहानगरपालिकालाई भनेर बजार बन्द गराएको बताउनुभयो ।