हेटौंडाः सरकार जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्नु भन्दा सत्ताको जोड घटाउमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आज एक विज्ञप्ती जारी गर्दै संघीय सरकारले राजनीतिक दल र संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याउनुलाई सत्ताको जोडघटाउमा केन्द्रित भएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नेपालमा ४२ जना कोराना संक्रमित पुगेको र लकडाउनको ३० दिनसम्म सरकारको कामबारे जनताले नै आवाज उठाइरहेका बेला कानून संशोधनको विषय आपत्तिजनक भएको जनाएको छ । नेपाली कांग्रेस बागमती संसदीय दलले ३ बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस बागमती संसदीय दलले नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ नेपालको संविधान र लोकतन्त्रमाथिको ठाडो प्रहार भएका जनाएको छ । यस्ता वदनियतपूर्वक ल्याइएका अध्यादेशहरु तत्काल खारेज गर्न नेपाली कांग्रेसले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
स्थिरतातर्फ उन्मुख हुँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्दै पुनः अस्थिरतातर्फ धकेल्न र सत्तामा टिकिरहने आफ्नो स्वार्थपुर्तिका लागि गरिएको सरकारको कार्यको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनता र नागरिक समाजमा आव्हान गरेको छ । अभिभावकको रुपमा रहेको सरकार अन्यत्र बरालिएर जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । यतिबेला सरकारको सम्पूर्ण ध्यान कोरोना संक्रमितको उपचारमा जुट्न, परिक्षणको दायरा फराकिलो पार्न, विपन्न श्रमिक वर्गलाई राहत उपलव्ध गराउन र अलपत्र नागरिकको उद्दारमा केन्द्रित गर्नुपर्नेमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ।