हेटौंडा–८, कमानेस्थित रोटरी आधारभूत विद्यालय नजिकै निर्माण गरिएको डीप बोरिङबाट बैशाख ५ गते पानी वितरणको सुरुवात गरिँदै ।

हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लकडाउनका अवधिमा पनि काम नरोकिएको बताएको छ । हर्नामाडीमा रहेको ७० किलोमिटर पाइप विस्तारको काम भैरहेको ढकालले बताउनुभयो । त्यस्तै ग्राहहरुको धारा मर्मत, पानी लिकेज भएका स्थानमा मर्मतका कामहरु भैरहेकोे उहाँले बताउनुभयो । त्यस्तै अनलाइन मार्फत खानेपानीको महशुल बुझिरहेको भन्दै कार्यालय समयमा केहि उपस्थित पनि भएको बताउनुभयो । फिल्डमा भने सिफ्ट गरेर पालैपालो गरिएको छ ।
यसैबीच हेटौंडामा निर्माणाधिन ५ वटा डीप बोरिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ५ मध्ये एउटा डीप बोरिङ बैशाख ५ गतेबाट सञ्चालनमा आइसकेको हेटौंडा खानोपानी व्यवस्थापन बोर्डले जनाएको छ । लकडाउनका कारण डीप बोरिङको अन्तिम चरणको काम पूरा हुन नसकेको हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालका अनुसार ५ वटा डीप बोरिङ मध्ये कमानेमा–८ मा रहेको एक डीप बोरिङ चलाइएको छ । बाँकी ४ वटा डीप बोरिङको पनि विद्युत जडानको काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
हेटौंडा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा–१०, टिसिएन, हेटौंडा–७, किरनचोक र नागस्वतीमा डीप बोरिङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लकडाउनपछि विद्युतसम्बन्धी सामान आएपछि सबै बोरिङबाट ३० लाख लिटर पानी उत्पादन हुने कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । अहिले नगरमा पानीको माग दैनिक १ करोड ५५ लाख लिटर रहेकोमा १ करोड ४० लाख मात्रै वितरण गर्न सकेको छ ।
हेटौंडा नगरमा वार्षिक २ हजार नयाँ धारा जडान हुने गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले बताउनुभयो । वार्षिक रुपमा धारा जडान गर्ने घरधुरी बढेसँगै खानेपानीको माग पनि बढ्ने गरेको छ । बार्षिक रुपमा खानेपानीको वितरण २० हजार लिटर बढाउनुपर्ने देखिएको छ । अहिलेको समग्र मागलाई पुर्‍याउन सकिएको भएपनि कहिँ कम कहिँ बढी भएको ढकालले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३, ११, १२, १३, १८ र १९ मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको पहुँच पुगको छैन ।