Home मुख्य समाचार सरकार जनताको जीवनरक्षा भन्दा सत्ताको जोडघटाउमाः कांग्रेस

सरकार जनताको जीवनरक्षा भन्दा सत्ताको जोडघटाउमाः कांग्रेस

हेटौंडाः सरकार जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्नु भन्दा सत्ताको जोड घटाउमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आज एक विज्ञप्ती जारी गर्दै संघीय सरकारले राजनीतिक दल र संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याउनुलाई सत्ताको जोडघटाउमा केन्द्रित भएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नेपालमा ४२ जना कोराना संक्रमित पुगेको र लकडाउनको ३० दिनसम्म सरकारको कामबारे जनताले नै आवाज उठाइरहेका बेला कानून संशोधनको विषय आपत्तिजनक भएको जनाएको छ । नेपाली कांग्रेस बागमती संसदीय दलले ३ बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस बागमती संसदीय दलले नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ नेपालको संविधान र लोकतन्त्रमाथिको ठाडो प्रहार भएका जनाएको छ । यस्ता वदनियतपूर्वक ल्याइएका अध्यादेशहरु तत्काल खारेज गर्न नेपाली कांग्रेसले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
स्थिरतातर्फ उन्मुख हुँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्दै पुनः अस्थिरतातर्फ धकेल्न र सत्तामा टिकिरहने आफ्नो स्वार्थपुर्तिका लागि गरिएको सरकारको कार्यको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनता र नागरिक समाजमा आव्हान गरेको छ । अभिभावकको रुपमा रहेको सरकार अन्यत्र बरालिएर जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । यतिबेला सरकारको सम्पूर्ण ध्यान कोरोना संक्रमितको उपचारमा जुट्न, परिक्षणको दायरा फराकिलो पार्न, विपन्न श्रमिक वर्गलाई राहत उपलव्ध गराउन र अलपत्र नागरिकको उद्दारमा केन्द्रित गर्नुपर्नेमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ।

Exit mobile version