हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले मकवानपुर जिल्लाका दस वटै स्थानीय तहहरुलाई सहयोग गर्ने क्रम जारी छ । सम्बन्धित स्थानीय तहमै सञ्चालित सहकारी र संघले संयुक्त रुपमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको अभियानमा सहयोग गरिरहेको हो । संघले आज भिमफेदी गाउँपालिकालाई ३६ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बचत संघले यसअघि मकवानपुरको ४ वटा स्थानीय तहमा सहयोग रकम हस्तान्तरण गरिसकेको छ । संघले हेटौंडा उपमहानगरपालिकालाई १ लाख १ हजार रुपैयाँ, बकैया गाउँपालिकालाई ९६ हजार ५ सय रुपैयाँ, थाहा नगरपालिकालाई ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री र मकवानपुरगढी गाउँपालिकालाई ५५ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।