छलफलमा सहभागीहरु ।

हेटौंडाः ४२ औं विश्व खाद्य दिवसको अवसरमा बिहीबार हेटौंडामा एकीकृत कृषि तथा खाद्य प्रणाली समसामायिक सवालहरुको विषयमा छलफल भएको छ । “उत्पादन पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार” भन्ने नाराका साथ खाद्यका लागि कृषि अभियानको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले किसानहरुको आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार सबैले स्थानीय उत्पादनलाई बढाएर उपभोग गर्नुपर्छ । यस्तै अनुदान लिनका लागि मात्र फर्म दर्ता गर्ने किसानहरु बढेको भन्दै कृषि अनुदान बन्द गरिएको उहाँले जानकारी दिनुभयो । कृषकहरुलाई सिद्धान्त र व्यवहारिक ज्ञान प्रदान गर्न पाठशाला समेत संचालन गर्न प्रदेश सरकार तप्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

खाद्यका लागि कृषि अभियानका अभियन्ता दिपेश नेपाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका वरिष्ठ कृषि प्रचार अधिकृत तथा प्रवक्ता झलकनाथ कंडेल लगायतले एकीकृत कृषि तथा खाद्य प्रणाली समसामायिक सवालहरु विषयमा बहस गर्नुभयो ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको सभाध्यक्ष तथा प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।